काठमाडौं । दुई पटकका ओलम्पिक पदकधारी भारतीय पहलवान तथा कुस्ती (रेस्लिङ) खेलाडी सुशील कुमार हाल दिल्लीको तिहार जेलमा छन् ।
रेस्लर सागर रानाको हत्यामा संलग्न रहेको कारण सुशीलले जेल जीवन बिताउँदै आएका हुन् ।
पहलवान सुशीलले हाल कारागार परिसरमानै कैदीहरुलाई कुस्ती (रेस्लिङ) तथा फिटनेस ट्रेनिङ दिन सुरु गरेका छन्।
व्यक्तिगत रुममा अभ्यास गरी आफुलाई फिट राख्दै आएका सुशीलले कारागारका अधिकारीबाट अन्य कैदीहरुलाई समेत अभ्यास गराउन अनुमति पाएका छन् ।
हाल, ६ देखि ७ कैदीहरु सुशीलबाट रेस्लिङ र फिजिकल ट्रेनिङ लिंदै आएका छन् ।
पछिल्लो दुई वर्ष कोरोना महामारीको कारण कारागार भित्र समेत बिभिन्न प्रावधानहरु लागू गरिएको थियो तर अहिले कोरोना नियन्त्रणमा आउन थालेपछी कारागारका अधिकारीले सुशीललाई ट्रेनिङ गराउन अनुमति दिएका हुन् ।
कारागार अधिकारीका अनुसार, यस्तो अभ्यास पहिल्यैबाट गराउन अनुमति दिने सोच रहेपनि तेस्रो कोरोना लहरको कारण अनुमति दिइएको थिएन । यदि कुनै कैदीले डिप्रेसनबाट मुक्त हुन तथा आफुलाई व्यस्त राख्न चाहे सुशीलबाट ट्रेनिङ लिन सक्ने कारागारका अधिकारीले बताएका छन् ।
सुशील सन् २०२१ को मेमा पक्राउ परेका थिए । उनले गत वर्षको जुन देखि कारागार जीवन बिताई रहेका छन् ।