काठमाडौं । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई पाँच तारे होटल सेन्ट्रल प्लाजाले प्रायोजन गरेको छ ।
आगामी चैतमा आयोजना हुने प्रतियोगितालाई हस्पिटालिटी पार्टनरको रुपमा सेन्ट्रल प्लाजाले प्रायोजन गरेको हो ।
शुक्रबार सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै प्रतियोगितामा सहभागी हुने टोलीका खेलाडी तथा अफिसियलका लागि आवास तथा भोजनको व्यवस्थापन सेन्ट्रल प्लाजामा हुनेछ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको आठौं संस्करण चैत १० देखि १४ गते सम्म हुनेछ ।
नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रतियोगिता नेपालगन्ज रंगशालाको कभर्ड हलमा हुनेछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोराना महामारीका कारण केहि समय ढिला हुन गएको हो ।
प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।