काठमाडौं । आङ छिरिङ शेर्पा दोस्रो स्मृति गल्फ प्रतियोगिताको पहिलो दिन रविन फुयालले अग्रता बनाएका छन् ।
गोकर्ण फरेस्ट रिर्साटमा शुक्रबार १७ ह्याण्डीक्यापमा ४३ अंक बटुलेर अग्र स्थानमा रहेका हुन् । निष्कर्ष बहादुर घले ४१ अंकका साथ दोस्रो स्थानमा रहेका छन् ।
बेस्ट ग्रस तर्फ मिथुन राई ३२ ग्रस अंकका साथ अग्रस्थानमा छन् । त्यसैगरी माधव सिम्खडा ३० ग्रस अंक जोड्दै ग्रस तर्फ दोस्रो स्थानमा रहेका छन् ।
महिलातर्फ ३४ अंक जोड्दै गिता गुरुङले अग्रता बनाएकी छिन् । ३१ अंकका साथ प्रतिभा राई दोस्रो स्थानमा छिन् ।
सिनियर्स तर्फ सहायक रथी दिलिप रायमाझीले ३६ अंक ल्याई अगाडि छन्भने सोही विधामा दोस्रो स्थानमा ३५ अंकको साथमा हेमन्त कोलाक्षपति छन् । जुनियर्सतर्फ आइस्टिना टण्डनले १० अंकका साथ अग्रता कायम गरेकी छिन् ।
आशय ढुङ्गाना लङ्गेस्ट ड्राइभ तर्फ अगाडि रहेका छन्, त्यसैगरी तारा कार्की चित्रकार क्लोजेस्ट टु द पिन तर्फ अग्रस्थानमा छन् । पेम्बा शेर्पा मोस्ट बर्डी बिधामा अगाडि रहेका छन् ।
यस गल्फ प्रतियोगिता स्टेबलफोर्ड फरम्याट ३/४ ह्याण्डीक्यापमा खेलाइएको छ ।
यती एअरलाइन्स र तारा एअरले आयोजना गरेको प्रतियोगिताको शुभारम्भ शुरुवाती शर्ट प्रहार गर्दै यती एअरलाइन्सकी प्रबन्ध निर्देशक तथा स्व. आङ्ग छिरिङ शेर्पाकी श्रीमती चन्दा शेर्पाले गरिन् ।
प्रतियोगितामा शुक्रबार ६८ जना खेलाडी सहभागी थिए भने शनिबार ९० जना सहभागी हुने यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । प्रतियोगिता शुरु हुनु पूर्व सम्पूर्ण खेलाडीहरुले स्वर्गीय आङ्ग छिरिङ शेर्पाको सम्झनामा १ मिनेट मौन धारण गरेका थिए ।