काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकप अन्तर्गत आयोजक न्युजिल्याण्डले दोस्रो जित हात पारेको छ ।
बिहिबार भएको खेलमा न्युजिल्याण्डले भारतलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
हामिल्टनमा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ६२ रनले पराजित गर्यो ।
न्युजिल्याण्डले दिएको २ सय ६१ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभर ४ बलमा मात्र १ सय ९८ रनमा समेटियो ।
भारतकी हर्मनप्रित कौरले अर्धशतकीय इनिङ खेलिन् । कौरले ६३ बलमा सर्वाधिक ७१ रनको इनिङ खेलिन् ।
यस्तै कप्तान मिथाली राजले ३१, यस्तिका भाटियाले २८, स्नेहा रानाले १८, झुलन ग्वस्वामीले १५ तथा मेघ्ना सिंहले १२ रनको योगदान गरिन् ।
न्युजिल्याण्डकी लिए तहुहु र अमेलिय केर्रले समान ३/३ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्यटिङमा आएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६० रन बनायो ।
न्युजिल्याण्डकी यमी साट्टेर्थवेटले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेलिन् । यस्तै अमेलिय केर्रले समेत ५० रनको अर्धशतकीय इनिङ खेलिन् ।
काटे मार्टिनले ४१, कप्तान सोफी डिभाइनले ३५, माड्डी ग्रिनले २७ तथा फ्रान्सेस म्याकेले १३ रनको योगदान गरिन् ।
भारतकी पुजा भस्त्रकरले ४ तथा राजेश्वरी गाएक्वाडले २ विकेट हात पारिन् ।
खेलको प्लेअर अफ द म्याच यमी साट्टेर्थवेट घोषित भइन् ।
जितसंगै न्युजिल्याण्ड ३ खेलमा २ जित हात पर्दै ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
भारत भने २ खेलमा १ जित र १ हारसंगै २ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।