काठमाडौं । दशौँ शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण बुधबार पूरा भएको छ ।
क्वाटरफाइनल आँधीखोल युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौ युवा क्लब तथा भंगरा युवा क्लब र पञ्चमुल सिरुवारी युवा क्लबबीच हुने छ ।
लिगको अन्तिम दिन ७ खेल सम्पन्न भए । त्यसमा दरौले दरौखोलालाई २–१, आँधीखेलाले माझकटेरी युवा क्लबलाई २–०, राङखोलाले राम्चे युवा क्लबलाई २–० र पञ्चमुल सिरुवारीले नव दृष्टि युवा क्लबलाई २–० को सेटमा पराजित गरे।
स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको अन्य लिग खेलमा छेवाङले महाशिला ‘बी’ लाई २–०, भंगाराले क्षेत्री समाज युवा क्लबलाई २–१ र हिले युवा क्लबले प्रगतिशिल युवा क्लबलाई २–१ को सेटमा हराए ।
बुधबार स्व. शिरशुभा÷गम्भीरमान सिंह गुरुङ स्मृति खेल मैदान समेत उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र कांग्रेस नेतृ सरस्वती गुरुङले मैदानको संयुक्त उद्घाटन गरे । आयोजककै उक्त मैदानमा आयोजकले नै करिब २० लाख खर्चमा खेल मैदान निर्माण गरेको हो ।