काठमाडौं । प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता चैतको दोस्रो साता आयोजना हुने भएको छ ।
बाँके जिल्ला भलिबल संघले बुधबार प्रेस विज्ञप्ति निकाल्दै आठौं संस्करणको पीएम कप चैत १० देखि १५ गतेसम्म नेपालगन्ज रंगशालाको कभर्डहलमा हुने जनाएको छ ।
प्रतियोगितामा देशका चर्चित क्लबसहित भारतका क्लबलाई सहभागि गराउने प्रयास भइरहेको आयोजकले जनाएको छ ।
यसअघि भारतीय चर्चित क्लबका साथै बंगलादेशको टिमले समेत यस प्रतियोगितामा सहभागिता जनाइसकेको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथो संस्करणमा रेलवे इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिसले उपाधि जितेका थिए ।
सातौं संस्करणमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेको थियो ।