पोखरा । टाइगर ग्रुप पोखराले टाइगर कप भलिबल प्रतियोगिताको आय व्याय विवरण सार्वजनिक गरेको छ ।
गत पुस २६ देखि माघ १ गते सम्म पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन भएको दोस्रो संस्करणको टाइगर कप खुल्ला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिताको आय व्याय विवरण ग्रुपले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा ग्रुपका कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले प्रतियोगिताबाट ७ लाख ९५ हजार, २ सय ७४ रुपैयाँ बचत भएको बताए । उनले ७९ लाख, ४६ हजार ९ सय १० रुपैयाँ आम्दानी भएको र ७१ लाख ५१ हजार ६ सय ३६ रुपैयाँ खर्च भएको जानकारी दिए ।
राउण्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ५ गरी १० टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा महिलातर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र आयोजक टिमको सहभागिता रहेकोे थियो।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगितामा महिलातर्फको उपाधि एपीएफ क्लब र पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । विजेता दुवै टिमले समान ३÷३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बचत रकम खेलकुदको विकास तथा बाघ संरक्षण अभियानमा खर्च गरिने बताए ।