काठमाडौं । प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ ।
नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा देशभरका जिल्ला र क्लबका ७० देखि ८० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
ब्वाइजतर्फ १० वटा र गर्ल्सतर्फ ८ वटा तौल समूहमा गरी जम्मा १८ वटा स्वर्ण, १८ रजत र ३६ काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा ३५, ३७,४०,४३,४६,४९, ५२, ५५,५८ र ६१ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ ३५,४०,४३,४६,४९,५२,५५ र ६० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले स्कुल स्तरका प्रतियोगिताबाटै भविष्यका खेलाडी पहिचान गर्न मद्दत पुग्ने बताउदै आयोजकलाई धन्यवाद दिए ।
प्रतियोगिताका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङका स्वर्णधारीत्रय भूपेन्द्र थापा मगर, सनिल शाही र मिनु गुरुङलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगरको तर्फबाट जनही १ लाख नगदसहित सम्मान गरिने भएको छ ।