पोखरा । चौंथो संस्करणको सृजना कप भलिबल प्रतियोगिता आगामी चैतमा आयोजना हुने भएको छ ।
कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा चैत ४ देखि ७ गते सम्म सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामा कास्कीका सामुदायिक विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगितामा ५० टिमको सहभागिता रहने केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता छात्र÷छात्रा दुबै टिमले १÷१ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले ५०÷५० हजार र तेस्रो हुने टिमले ३०÷३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सर्वोकृष्ट छात्र÷छात्रा दुवै खेलाडीलाई ५÷५ हजार तथा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेटर र बेष्ट सर्भरलाई १÷१ थान भलिबल प्रदान गरिने छ ।
प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आयोजना हुने छ ।
प्रतियोगिता सञ्चालनका लागि १० लाख खर्च हुने र १० लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान छ ।
प्रतियोगिताबाट वचत भएको रकम भलिबल खेल कै विकास र बिस्तारमा खर्च गरिने केन्द्रका अध्यक्ष पौडेलले जानकारी दिए ।
राष्ट्रिय खेल भलिबललाई अझ लोकप्रिय र प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बताए ।
गत माघ १९ देखि २२ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता कोरोनाका कारण स्थगित भएको थियो ।