काठमाडौं । दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
सोमबारदेखि सुरु हुने प्रतियोगिता स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुको आयोजना गर्न लागेका हन् ।
प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइने जेठा छोरा पूर्व मेजर लीलबहादुर गुरुङले जनाएका छन् ।
समूह ‘ए’ मा दरौ खोला, माझपटारी युवा क्लब, आँधीखोला युवा क्लब र दरौ युवा क्लब तथा समूह ‘बी’ मा रानीखेला युवा क्लब, पञ्च सिरुवारी युवा क्लब, नव दृष्टि युवा क्लब र राम्चे युवा क्लब छन् ।
त्यस्तै कालिका युवा क्लब, खेवाङ युवा क्लब, उखुबारी युवा क्लब र महाशिला युवा क्लब समूह ‘सी’ तथा भंगारा युवा क्लब, हिले युवा क्लब, प्रगतिशिल युवा क्लब र क्षेत्री समाज समूह ‘डि’ मा रहेका छन् । उद्घाटन खेल दरौ खेला र माझपटारीबीच हुने छ ।
विजेताले १ लाख, उपविजेताले ५० हजार र तेश्रो हुनेले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । पूर्व मेजर लीलबहादुरले खेलाडी, प्रशिक्षक, अफिसियललगायत गरी १ हजार जनाको बिमा गरिएको जानकारी दिए ।
फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्याङजाको सिरुवारीस्थित झाँक्रीथानको कुर्लेमा हुने छ । उक्त कोर्ट आयोजकले आफ्नै जग्गामा करिब २० लाख खर्च गरी बनाएको हो ।
प्रतियोगिताको गण्डकी प्रदेशका प्रमुख तुलसीमान गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।