लिगलाई फर्केर हेर्दा : सातदोबाटोको उडान र प्रशिक्षक मेघराज

काठमाडौं । मेघराज केसीले फुटबल खेलाडीका रूपमा न त धेरै ख्याति कमाए । न त सफलता नै । उनी औसत खेलाडी रहे । तर फुटबल प्रशिक्षकका रूपमा भने उनी उम्दा रहे । उनले एक पल्ट होइन्, दुई पल्ट होइन्, तीन पल्ट भन्दा बढी आफूलाई राम्रा प्रशिक्षक प्रमाणित गरिसकेका छन्, त्यो पनि एक दशक भन्दा बढी समयका दौरान । यसपल्ट पनि यिनै मेघराजले फेरि एकपल्ट सिद्ध गरे, नेपाली घरेलु फुटबलमा उनको उत्तर छैन्, उनमा नेपाली फुटबललाई बुझ्न सक्ने शक्ति छ ।
मेघराजले सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सातदोबाटोलाई त्यस्तो उडान भराए, जसलाई पछिसम्म पनि याद राखिनेछ । लिग सुरु हुन अगाडि नै उनले भनेका थिए, यसपल्ट सातदोबाटोको प्रदर्शन त्यस्तो हुनेछ, जसलाई धेरैले पछिसम्म सम्झने छन् । उनले यस्तो जित्ने उस्तो जित्ने केही दाबी गरेनन् । जति बेला लिग सकियो, सातदोबाटोको प्रदर्शन साँच्चै सम्झनलायक रह्यो । ए डिभिजनमा उक्लेको पहिलो वर्षमै चौथो स्थानमा ।
सातदोबाटोको यो यात्राको श्रेय एक होइन्, धेरैलाई दिनु पर्नेछ । विशेषत: व्यवस्थापनलाई । माथिल्लो डिभिजनमा उक्लेको पहिलो सिजन टिम सम्हाल्न व्यवस्थापन पक्षलाई गाह्रै हुन्छ । तर पनि मज्जाले भन्न सकिन्छ, सातदोबाटोको यो यात्राका सबैभन्दा महत्त्वपूर्ण पात्र रहे, प्रशिक्षक मेघराज । उनले घरेलु नेपाली फुटबललाई यति धेरै नजिकबाट बुझेका छन् कि उनले सातदोबाटोका लागि त्यस्तो टिम बनाए र खेलाए, जसले अन्तत: धेरैको मन जित्यो ।
सिधा सिधा भन्दा सातदोबाटोको एक्स फ्याटर रहे, यी प्रशिक्षक । लिग चलिरहेकै बेला उनकी आमाको निधन पनि भएको थियो, तर यस्तो प्रतिकुल स्थितिमा पनि उनी फुटबलकै जोडघटाउमा व्यस्त रहे । र, कप्तान मानबहादुर तामाङको कुरा, लिगकै क्रममा उनले आफ्नो बुबालाई पनि गुमाए । तर उनले त्यो पीडालाई आफ्नो खेलमा कहिले पनि प्रभावित हुन दिएनन् । बरू उनले पनि राम्रै खेले । सम्भवत: मानबहादुरको खेल जीवनको यो नै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट लिग हुनु पर्छ ।
यी दुई उदाहरणले पनि देखाउँछ, खेल जीवनमा कति धेरै समर्पण र बलिदान चाहिने रहेछ । लिगको आफ्नो अन्तिम खेलमा सातदोबाटोले च्यासललाई हराएको थियो र यसक्रममा २१ अंक बटुलेको थियो र रह्यो, चौथो स्थानमा । त्यो भनेको च्याम्पियन मछिन्द्र, आर्मी र एनआरटीपछि । अनि त्यो भनेको मनाङ मस्र्याङ्दी र थ्री स्टार जस्ता टिम अगाडि । लिग सुरु हुन अगाडि कमैले यस्तो हुन्छ भनेर सोचेका थिए । अझ छुच्चो भएर भएर भन्दा लिग सुरु हुन अगाडि सातदोबाटोको लागि त रेलिगेसनबाट बच्ने लक्ष्य नै ठूलो थियो ।
तर प्रतियोगिताको अन्त्य हुँदा सबैले सातदोबाटोलाई दिएको नाम हो, ‘जायन्ट किलर’ को । त्यो भनेको त्यस्तो टिम, जसले ठूल ठूला नाम भएका प्रतिद्वन्द्वीलाई पछार्ने गर्छ । सातदोबाटो अगाडि हारलाई स्विकार्ने टिम रहे, तिनै थ्री स्टार र मनाङदेखि पुलिससम्म । यी यस्ता तीन नाम हुन जसले लामो समय नेपाली फुटबलमा वर्चश्व कायम राखे । सातदोबाटोले जावलाखेल र हिमालयनबीच लिगको मध्य भागमा भएका खेल आफू अनुकुल नतिजा निकालेको भए, टिमको स्थिति अझ अगाडि हुने तय थियो ।

पुलिस, आर्मी र एपीएफले नेपाली माथिल्लो डिभिजनको फुटबलमा सिधै प्रवेश पाए, जुन आफैमा ठीक थिएन् । यी टिमलाई छाडेर जुन अन्य टिमले क्रमश: डी, सी र बी डिभिजन चढेर माथि पुगे, त्यसमध्ये दुई दशक भन्दा बढीको पछिल्लो समयलाई आधार मान्ने हो भने नवप्रवेशीका रूपमा सातदोबाटोको प्रदर्शन वास्तवमै उल्लेखनीय रह्यो । खालि एउटै कुरा, सातदोबाटोलाई अहिलेको सफलतामा मात लाग्नु हुन्न, अबका लिगमा अझ राम्रो खेल्ने प्रयास गर्नु पर्छ ।
तथ्यांकमा सातदोबाटो :
कुल खेल : १३
अंक जोडेको : २१
गोल गरेको : १४
गोल खाएको : ११
गोल गर्ने खेलाडी : अजयी मार्टिन्स (६), सुशील राई (३), दीपकराज सिंह ठकुरी (१), सुदीप गुरुङ (१), आकाश बुढामगर (१), निरज चौधरी (१), मार्टिन्स एडेल्फे (१)
विना सब्टिच्युट सबै खेल खेल्न खेलाडी : सुदीप गुरुङ
प्रतियोगितामा उतारेको कुल खेलाडी संख्या : २५
दीपकराज सिंह ठकुरी, सुशील राई, पासाङ लामा, अभिषेक बराल, सुदीप गुरुङ, मानबहादुर तामाङ, आकाश बुढामगर, करण रावत, पिटर सेगुन, सिफामन्डला सेबेलो, अजयी मार्टिन्स, प्रशान्त अवस्थी, निरज चौधरी, रञ्जन पुन, प्रकाश पुन, सुमन डंगोल, महेन्द्र कार्की, निशान थापामगर, मार्टिन्स एडेल्फे, अशोक राई, आदित्य शाक्य, आशिष राई, अदिल हमिद, वसन्त तामाङ, वसन्त ओझा ।











-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

