काठमाडौं । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत अन्तिम साता आयोजना हुने भएको छ ।
सञ्जय स्मृति प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २४ देखी २६ गतेसम्म आयोजना हुने जनाएको छ ।
नेपाल भलिबल संघसँगको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा आयोजना हुने प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी गराईन् ।
प्रतियोगितामा ३ विभागीय टोली आर्मी, पुलिस, एपीएफ र सात प्रदेशको टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले १ लाख नगद प्राप्त गर्ने छन् । यस्तै उपविजेताले ५० हजार पाउने छन् ।
प्रतियोगितामा सहभागिता जनाउन आउनेलाई यातायात, बसोबास, जर्सी, खेल सामग्रीसहित म्याच फि आयोजकले उपलब्ध गराउने छ ।
प्रतियोगिता आयोजना गर्न अनुमतित ३० लाख बजेट रहेको आयोजकले जनाएको छ । प्रतियोगिता आयोजनाका लागि तानसेन नगरपालिका, तानसेन गुठी, पाल्पाली संगमसहित विभिन्न सरकारी र निजी क्षेत्रसँग सहयोग मागिएको आयोजकले जनाएको छ ।
खेलकुदको माध्यमबाट पर्यटन क्षेत्रको विकास र प्रवर्धनका लागि प्रतिष्ठानले सञ्जय मास्केको स्मृतिमा बिच भलिबल आयोजना गर्न लागिएको जनाएको छ ।
पाल्पा तानसेन निवासी मास्के बहुआयामिक सामाजिक व्यक्तित्व रहेका थिए । खेलकुद, कला, संगीत र सामाजिक कार्यमा उनको रुची रहेको थियो ।