धरान । स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।
धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौं संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् । धरानका राईले २ ‘ह्याण्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका कारण राईलाई ‘बेष्ट ग्रस र मोष्ट बर्डी’को पनि दाबेदार बनाएको छ ।
धरानकै खेलाडी सुयश प्याकुरेल ३७ ‘स्टेबलफोर्ड स्कोर’का साथ दोस्रो स्थानमा छन् । त्यस्तै पोखराका हरी राई, धरानका राम तामाङ र विनोद राई ३५ ‘स्टेबल फोर्ड स्कोर’का साथ संयुत्त रुपमा तेस्रो स्थानमा छन् ।
महिलातर्फ काठमाडौंकी खेलाडी सुस्मासिंह शाह ३९ ‘स्टेबलफोर्ड स्कोर’ जोड्दै पहिलो स्थाानमा रहेकी छिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बुले ‘३७ स्टेबल फोर्ड स्कोर’ गरेकी छिन् ।
‘क्लोजेष्ट टु दी पीन’तर्फ धरानका खेलाडी बुद्धिमान सुुनुवार होलको ६ फिट नजिक राख्न सफल भएर अग्र स्थानमा रहन सफल भएका छन् । त्यस्तै सिद्धार्थ राई ‘लङ्गेष्ट ड्राइभ’तर्फ अग्र स्थानमा छन् ।
‘स्टेबलफोर्ड फम्र्याटमा ३ बाई ४ ‘ह्याण्डी क्याप’मा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने बाँकी पुरुष खेलाडी थिए ।
प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन शनिबार ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसअघि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले ‘टी अफ’ गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा प्रधानसेनापति शर्माले गल्फलाई आर्थिक सम्मद्धिसँग जोड्न लागेकोमा खुशी व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानमा आमन्त्रित गल्फ प्रतियोगितासँगै समग्र प्रदेशको समृद्धिको मार्गचित्रका लागि युवा उद्यमशिलता कन्क्लेभ र आर्थिक सम्मेलनको आयोजनाले धरानमा बाह्य लगानी भित्र्याउन सहयोग पुग्ने बताए । धरान ऐतिहासिक र महत्त्वपूर्ण सहर भए पनि निजी क्षेत्रको लगानी खासै आउन नसकेको उनले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले गल्फलाई समृद्धिसँग जोड्दै यो कार्यक्रमको परिकल्पना गरिएको बताए । उनले खेलसँगै आर्थिक विकासको विषयमा बृहत छलफल गरिने बताए ।
बाह्रखरी मिडियाका प्रधानसम्पादक एवम् अध्यक्ष प्रतीक प्रधानले नेपाली सेनाले नेपाली खेलकुदलाई प्रोत्साहन गर्दै आइरहेको र सोही कारण प्रधानसेनापतिबाट उद्घाटन गरिएको बताए । निजी क्षेत्रको सहकार्यमा आफूहरूले यस्तो कार्यक्रम आयोजना गर्न सफल भइरहेको बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।
धरान गल्फ कोर्सका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूले पनि कार्यक्रमको सफलताको कामना गरे ।