सुरजको विजयी सुरुआत

काठमाडौं । नेपाल बक्सिङ संघको तत्वावधानमा सुनसरी बक्सिङ संघको आयोजना एवं धरान उपमहानगरपालिकाको संयोजकमा बीर गणेशमान १ नं प्रदेशस्तरीय नोभिस बक्सिङ प्रतियोगिता तथा आल नेपाल एन ए एन मिस्टर फेदर वेट बक्सिङ च्याम्पियनसिप सुरु भएको छ ।
सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ सल्लाहकार विनोद राईले च्याम्पियनसिपको उद्घाटन गरे । च्याम्पियनसिप फागुन ५ गते देखि ७ गतेसम्म सञ्चालन हुनेछ ।
उदघाटन कार्यक्रममा सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकासकुमार गुवाजुलगायत अतिथिद्वारा यस क्षेत्रका फेदर वेट ५७ किलो तौल समुहमा देशको प्रतिनिधत्व गर्दै अन्तर्रष्ट्रिय स्तरमा नेपाललाई पदक जिताउन सफल तीन जना खेलाडीहरु ओलम्पियन तथा नेपाल बक्सिङ संघका उपाध्यक्ष नरेन्द्र लिम्बु पोमो, सुनसरी जिल्ला बक्सिङ संघका वरिष्ठ प्राविधक सल्लाहकार एवं पुर्व बक्सिङ प्रशिक्षक एवं दक्षिण एशियालीका पदकधारी श्री अनुपकुमार लामा र बक्सिङ्गका सहायक प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता निमा तामाङ्गलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
उदघाटन खेलहरुमध्ये प्रि क्वार्टरफाईनलमा अल नेपाल मिस्टर फेदरवेट च्याम्पियनशिप अन्तर्गतको ईभेन्टमा बक्समाण्डुका सुरज महर्जनले उदयपुरका नारायण भुजेललाई दोस्रो राउण्डमा पराजित गरे ।
त्यसै गरी बीर गणेशमान १ नं. प्रदेशस्तरीय नोभिस बक्सिङ्ग प्रतियोगिता अन्तर्गत वेन्टम वेट ५४ केजीतर्फ एबीसी, सुनसरीका वियान राई र झापाका निश्चल राजबंशीले क्रमशः दपकका फुंगहांग लिम्बु र मोरंगका पिन्स झालाई पराजित गरेका थिए ।
अल नेपाल फेदर वेटमा ५ जना खेलाडीहअरु र १ नं. प्रदेश गणेशमान सिंह नोबिस बक्सिङ्ग प्रतियोगितामा महिला ११ र पुरुश ३७ जना खेलाडीहरुको सहभागीता रहेको छ ।