काठमाडौं । भलिबलको फ्रेन्चाईज प्रतियोगिता नेपाल सुपर लिग एनएसएल भलिबल यस वर्ष नहुने भएको छ ।
चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड ईभेन्ट कम्पनीले आयोजना गर्ने भनिएको एसएसएल भलिबल यस वर्ष नहुने पक्का भएको हो ।
आयोजक कम्पनीका अनुसार फ्रेन्चाईज भलिबल नेपाली समय अनुसार अर्को वर्ष दशैं, तिहारको आसपासमा मात्र आयोजना हुनेछ ।
नेपाल भलिबल संघले फ्रेन्चाईज भलिबल सञ्चालन गर्न नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीसँग १० वर्षको सम्झौता गरेको थियो ।
आयोजक कम्पनीले नेपाल भलिबल संघलाई नाफाको ३० प्रतिशत दिने र संघको एक वार्षिक कार्यक्रममा ३० लाख रुपैयाँको प्रायोजन गरिदिने गरि सम्झौता भएको थियो ।
सम्झौता अनुसार संघले गत असोजमा चौधरी ग्रुपको प्रायोजनमा एनभीए क्लब च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिसकेको छ । तर फ्रेन्चाईज प्रतियोगिता आयोजनाको जिम्मेवारी लिएको चौधरी ग्रुप भने यस वर्ष प्रतियोगिता सञ्चालन गर्ने तालिकाबाट पछि हटेको हो ।
नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले चैतको २६ गतेदेखि जेठ ७ गतेसम्म फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको दोस्रो संस्करण आयोजना गर्दैछ । जेठको पहिलो सातासम्म एनएसएल फुटबल सम्पन्न गर्न जुटेको चौधरी समुह त्यसपछि मात्र भलिबलको प्रतियोगिताको तयारीमा लागैन बताएको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्ट कम्पनी यस वर्ष फ्रेन्चाईज फुटबलमा तीन टिम थप्दैछ । आयोजक अहिले सोही तीन टिमको अक्सनमार्फत लिलामी गर्दैछ ।
गत भदौ २२ गते पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीले प्रतियोगिता मंसिर १ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने बताएको थियो । महिला तथा पुरुषको दुई विधामा आयोजना गरिने प्रतियोगितामा एक महिना सञ्चालन गरिने उल्लेख गरिएको थियो ।
गत पुसमा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन लगत्तै फ्रेन्चाईज प्रतियोगिता संञ्चालन गरिने आयोजकले बताएको थियो । एभीसी लगत्तै कोभिडको तेस्रो लहर र फुटबल विन्डोका कारण आयोजक एनएसएल फुटबलको तयारीमा जुटेको छ ।
आयोजक कम्पनीले नेपाल भलिबल संघलाई जानकारी गराए अनुसार भलिबलको फ्रेन्चाईज सन् २०२२ को सेप्टेम्बरपछि मात्र सुरु हुनेछ । अर्थात भलिबलको फ्रेन्चाईज प्रतियोगिता हुन आगामी दशैं र तिहारको समयसम्म प्रतिक्षा गर्नुपर्ने भएको छ ।
‘फुटबलको फ्रेन्चाईज सकेर अर्को वर्ष दशैं तिहारमा भलिबल आयोजना गर्ने मनसाय देखिन्छ । तर दशै, तिहारको समयमा घरेलु भलिबल व्यस्त हुने भएकाले फ्रेन्चाईजले समय पाउन गाह्रो छ ।’ भलिबल संघका एक पदाधिकारीले भने ।