पोखरा । कोरोना महामारीका कारण सामुदायिक विद्यालयस्तरीय सिर्जना कप छात्रछात्रा भलिबल प्रतियोगिता स्थगित भएको छ ।
सिर्जना विकास केन्द्र पोखरा र जिल्ला भलिबल संघ, कास्कीले नियमित रुपमा आयोजना गर्दै आएको सो प्रतियोगिताको चौथो संस्करण यही माघ १९ देखि सुरु हुने कार्यक्रम थियो ।
जिल्ला प्रशासन कार्यालयको आदेशबमोजिम आमजनसमुदायको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको सिर्जना विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
माघ २२ सम्म संचालन हुने भनिएको सो प्रतियोगितामा कास्कीका करिब ४० देखि ५० विद्यलायको सहभागिता हुने कार्यक्रम रहेकोमा स्थगित गर्नुपरेको पौडेलले बताए ।
आयोजकले छात्र–छात्रा दुवैतर्फ च्याम्पियनलाई १÷१ लाख रुपैयाँ नगद पुरस्कार दिने तय गरेको थियो ।
सो प्रतियोगिताले विद्यार्थीको शारीरिक एवं मानसिक विकासमा सहयोग हुँदै आएको जिल्ला भलिबल संघ, कास्की अध्यक्ष भीम पराजुलीले बताए ।