बक्सिङ संघको साधारण सभा महासचिवले बहिष्कार गर्ने
काठमाडौं । नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा भोलि शनिबार ललितपुरको हात्तीवनमा आयोजना हुँदैछ ।
तर, संघकै महासचिव सुविन भट्टाचार्यले साधारणसभाको विरोध गरेका छन् ।
भट्टाचार्यले शुक्रबार एक विज्ञप्ति निकाल्दै संघको पूर्णकार्यसमितिबाट निर्णय नगराई साधारणसभा गर्न लागेको बताएका छन् ।
कोभिडको महामारीको समय राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको अवस्थामा अटेर गर्दै साधारणसभा हुन लागेको समेत उनले बताएका छन् ।
'अहिले मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरिसकेको छ,' विज्ञप्तिमा भनिएको छ, 'तर, अहिलेको संवेदनशील अवस्थामा पनि नेपाल बक्सिङ संघले भने भीडभाड गरेर वार्षिक साधारणसभा गर्न लागेको छ । साधारणसभाको मिति पनि संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयबाट तोकिएको थिएन ।'
भट्टाचार्यले राखेपबाट लिएको पुरानो स्वीकृतिलाई देखाएर संघले विशेष साधारणसभा गर्न लागेको जनाएका छन् ।
यस्तै कार्यसमितिका बहुसंख्यक पदाधिकारीलाई बाइपास गरेर नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनको पनि बर्खिलाप हुने गरी आयोजना गर्न लागेको सो साधारणसभा रोक्नका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्मा लिखित रुपमा निवेदन दिए पनि सुनुवाई नभएको बताएका छन् ।
महासचिव भट्टचार्यले एकलौटी ढंगले भोलि हुन लागेको संघको साधारण सभालाई बहिस्कार गर्ने समेत बताएका छन् ।
भट्टाचार्यको विज्ञप्ति -
मिति ः २०७८÷१०÷१४
प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु
सबै पत्रकार साथीहरुका समक्ष प्रत्यक्ष रुपमा उपस्थित भएर पत्रकार सम्मेलन गर्ने इच्छा हुँदाहुँदै पनि कोरोना भाइरसको संक्रमण र नेपाल सरकारको २५ जनाभन्दा बढी भेला हुन नपाइने नियमका कारण प्रेस विज्ञप्तिमार्फत आफ्ना कुरा राख्न लागेको हुँ ।
अहिले मुलुक कोरोना भाइरसको महामारीले आक्रान्त छ । कोरोना भाइरस निन्त्रणका लागि सरकारले सवारीसाधनमा जोडबिजोर प्रणाली लागु गर्नेदेखि २५ जनाभन्दा बढी मानिस भेला नहुन आदेश जारी गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्ले पनि कुनै पनि खेलकुदका गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरिसकेको छ । तर, अहिलेको संवेदनशील अवस्थामा पनि नेपाल बक्सिङ संघले भने भीडभाड गरेर वार्षिक साधारणसभा गर्न लागेको छ । साधारणसभाको मिति पनि संघको पूर्ण कार्यसमितिको सामूहिक निर्णयबाट तोकिएको थिएन । राष्ट्रिय खेलकुद परिषद्बाट लिएको पुरानो स्वीकृतिलाई देखाएर नेपाल बक्सिङ संघले यही माघ १५ गते शनिबार ललितपुरको क्लासिक बेङ्क्वेट, हात्तीवनमा विशेष साधारणसभा गर्न लागेको छ ।
कार्यसमितिका बहुसंख्यक पदाधिकारीलाई बाइपास गरेर नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनको पनि बर्खिलाप हुने गरी आयोजना गर्न लागेको सो साधारणसभा रोक्नका लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्मा लिखित रुपमा निवेदन दिए पनि सुनुवाई भएन । नेपाल बक्सिङ संघले २०७८ पुस १५ गतेभित्र साधारणसभा सम्पन्न गर्ने गरी राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिएको छ । कोरोना संक्रमणको गतिलाई हेर्ने हो भने पुस र माघ महिनाको अवस्था फरक छ । पछिल्लो समय कोरोना संक्रमितको ग्राफ निकै बढेको छ । यस्तो अवस्थामा पनि एउटै हलमा भीडभाड गरेर साधारणसभा गर्नु भनेको कोरोनालाई खुला रुपमा ‘च्यालेन्ज’ गर्नु मात्रै होइन, नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई पनि वेवास्ता गर्नु हो ।
नेपाल बक्सिङ संघको चार वर्षे कार्यकाल २०७७ जेठ २१ नै समाप्त भइसकेको छ । चार वर्षको अवधिमा संघले एउटा पनि साधारणसभा गर्न सकेन वा गर्न चाहेन । संघको विधानमै हरेक वर्ष साधारणसभा गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि अध्यक्ष राम अवालेले साधारणसभा गर्न कुनै इच्छा देखाएनन् । चार वर्षे कार्यकाल सकिसकेको संघको वार्षिक साधारणसभा बोलाउनुको औचित्य के हो ? कार्यकाल सकिएको संघको साधारणसभा गर्ने कि अधिवेशन ?
यसैगरी संघले अहिलेसम्म गरेका आर्थिक हिसावकिताव र खर्च पनि अवैध र गैरकानुनी छ । अहिलेसम्म जेजति खर्च भएको छ, ती सबै अध्यक्ष र कार्यबहाक कोषाध्यक्षको मनोमानीमा हुँदै आएको छ । निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै कार्यबहाक कोषाध्यक्ष खडा गरेर आर्थिक अनियमितता गर्ने अभिप्रायबाट नेतृत्व सञ्चालन भइरहेको छ । संघको नियमित वार्षिक साधारणसभा नहुँदा अध्यक्ष, महासचिव, कोषाध्यक्ष कसैको पनि प्रतिवेदन तयार हुन सकेको छैन । संस्थालाई जीवन्त राख्न अध्यक्ष र महासचिवको भन्दा पनि कोषाध्यक्षको प्रतिवेदन महत्वपूर्ण मानिन्छ । कोषाध्यक्षकै प्रतिवेदनका आधारमा संस्थाको अडिट हुने गर्दछ । कोषाध्यक्ष हटाएर कार्यबहाक कोषाध्यक्ष बनाउनेलगायतका कामले गर्दा विगत ६ वर्षको अन्तरालमा नेपाल बक्सिङ संघको एउटा पनि अडिट हुन सकेको छैन ।
अहिले पनि धेरै जिल्ला संघहरुमा विवाद छ । आफू अनुकुलको नेतृत्व आएमा स्वागत गर्ने र आफू अनुकुल नभएमा मान्यता नै नदिने प्रपञ्च संघको नेतृत्वले गरिरहेको छ । धेरैजसो जिल्लाका प्रतिनिधिको टुंगो लाग्न सकेको छैन । यस्तो अवस्थामा संघले जिल्लाका साथीहरुलाई कुन आधार र हैसियतमा साधारणसभामा सहभागी हुनका लागि आह्वान गरेको हो ? यसको स्पष्ट जवाफ नेतृत्वले दिन सकेको छैन ।
पछिल्लो समय नेपाल बक्सिङ संघ एकढिक्का र एकताबद्ध हुन सकेको छैन । विगत लामो समयदेखि हामीले प्रजातान्त्रिक पद्धती अनुसार सामूहिक निर्णयबाट संघ सञ्चालन हुनु पर्छ भनेर लगातार आवाज उठाउँदै आएका छौं । तर, चाकडी र चाप्लुसीमा रमाउँदै आएका अध्यक्ष अवालेले हाम्रो कुरालाई सुन्नै चाहेनन् । फरक मत र विचार राख्नेलाई जसरी पनि पेलेरै लैजाने रणनीति अवलम्बन गरेर अध्यक्ष अवालेले बक्सिङ संघलाई आफ्नै घरजस्तो गरेर एलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट सञ्चालन गर्दै आएका छन् । राम अवालेले कार्यसमितिको नेतृत्व सम्हालेदेखि नै महासचिव र कोषाध्यक्षजस्ता महत्वपूर्ण पदको अवमूल्यंन गर्दै बैठकको सूचनासमेत जानकारी नदिई आफ्नै नजिकका व्यक्तिहरु बसेर एकलौटी रुपमा निर्णयहरु गर्दै आएका छन् । स्टेरिङ कमिटीका निर्णयलाई पूर्ण कार्यसमितिको निर्णय भनेर भजाउँदै आएका छन् । कार्यकाल सकिएको संघमा जथाभावी रुपमा सदस्यहरु मनोनीत गर्ने काम गर्दै आएका छन् ।
सविन भट्टाचार्य
महासचिव
नेपाल बक्सिङ संघ






-1754312729.jpeg&w=3840&q=75)



-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

