काठमाडौं । एक व्यक्तिको आबद्धताले कति चिज बदल्छ, फुटबल क्लब मछिन्द्रलाई हेरे पुग्छ । क्लबको इतिहास एउटै व्यक्तिको वरपर बने जस्तै लाग्छ । ती व्यक्ति अरु कोही नभएर क्लबका व्यवस्थापक ‘अनिल श्रेष्ठ’ हुन् ।
पद कहिले काँही गौण हुने रहेछ, मछिन्द्रको ‘भाग्य’ उनै अनिलले फेरेका हुन् । जब उनी क्लबमा आए, मछिन्द्र घरेलु फुटबलमा एउटा शक्तिको रुपमा स्थापित बन्यो । जब उनी निष्कृय बने, क्लबले खराब समय ब्यहोर्यो । भन्दा फरक पर्दैन, यो समय मछिन्द्र फुटबल क्लबको हो । मछिन्द्र, घरेलु फुटबलको नयाँ ‘शक्ति’ हो । मछिन्द्रलाई यहाँसम्म डोर्र्याउने पात्र अरु कोही नभएर, अनिल एक्लै हुन् ।
मछिन्द्रले ३२ वर्षसम्म बी डिभिजन खेल्यो । ६० सालतिरको कुरा हो, क्लबले शीर्ष डिभिजन लिग तयारीको जिम्मेवारी अनिल र उनका साथी प्रज्जवल तुलाधरलाई सुम्पियो । ए डिभिजन उक्लिने स्वपनिल सपना बोकेर अनिल र उनका साथी प्रज्जवल खेलाडी खोज्न पूर्वतिर हान्निएका थिए । पूर्व नेपाली फुटबलको उर्वर भूमी मानिन्छ । घरेलु फुटबलमात्र हैन, राष्ट्रिय टिममा समेत पूर्वकै खेलाडीको बाहुल्यता रहने गर्छ ।
पूर्व पुगेका अनिल साथीसँग करिब १५–२० दिन जति बसे । र केही खेलाडी जम्मा पारे । ती खेलाडी थिए, बुद्ध चेम्जोङ, दिपक राईदेखि कर्ण लिम्बुसम्म । बी डिभिजनमा उक्लिने लक्ष्य सहित काठमाडौं ल्याएका खेलाडीले मछिन्द्रको लक्ष्य पुरा गरे । सन् २००४ मा दोस्रो स्थानमा रहदै मछिन्द्र शीर्ष डिभिजनमा उक्लियो ।
ए डिभिजनमा उक्लिएपछि क्लबसँग अनुभव थिएन । पैसा पनि थिएन । क्लबले बी छनोट खेलेकै टिम लिएर ए डिभिजनमा डेब्यु गर्यो । टिममा नतिजा राम्रो रहेन । मछिन्द्र १३ औं स्थानमा रह्यो । त्यसपछिको अधिकांश समय मछिन्द्र रेलिगेशनबाट बच्नमै संघर्ष गरिरह्यो ।
अहिले मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक छन्, तोफे फुजा । ‘त्यो’ समय फुजा मछिन्द्रका प्रशिक्षक बनेर आएका थिए । ए डिभिजनको दोस्रो सिजन मछिन्द्रले फुजाको नेतृत्वमा खेलेको थियो । क्लब छैटौ स्थानसम्म आयो । तर क्लबमाथि आर्थिक भार थपिदै गएको थियो । क्लबसँग पैसा थिएन । ए डिभिजन खर्चिलो थियो । मछिन्द्रले अब फुटबल खेल्न सक्दैन भन्ने हल्ला टोलभरी फैलिएको थियो ।
२०७० सालमा मछिन्द्रमा नयाँ कार्यसमिति आयो । सबैको कथन थियो, फुटबल खेलेर नतिजा आएन । क्लबले निर्णय गर्यो, ‘कसैले चलाए फुटबल खेल्ने, नत्र फुटबल छाड्ने । छलफलमा बसेका अनिललाई क्लबको निर्णय चित्त बुझेन । उनले भने, ‘क्लबले कति पैसा दिने हो देओस्, फुटबल म चलाउँछु ।’
क्लबले २० लाख दिन सकिने जवाफ दियो । अनिल एक्लै क्लब चलाउन तयार भए ।
उनले करिब १ करोडको बजेट बनाए । बाँकी पैसा अनिलले हाल्ने, नाफा–घाटा अनिलकै हुने समझदारी बन्यो ।
अनिलले क्लबको जिम्मेवारी लिएपछि मछिन्द्रसँग मुख्य प्रायोजकको रुपमा एनएमबी बैंक जोडियो । मुख्य प्रायोजकको रुपमा बैंकले १५ लाख दिने भयो । क्लबले २० लाख दिएको थियो । एन्फाबाट समेत केही रकम तयारी खर्च आउथ्यो । अनिलले झण्डै ८० लाख जति प्रायोजक जुटाए ।
मछिन्द्र सानै क्लब थियो । स्टार खेलाडी थिएनन् । अनिलले टिम चाँही राम्रो बनाए । बिशाल राईदेखि रेजिन धिमाल, देबेन्द्र तामाङ, शुशिल केसी, कर्ण लिम्बु जस्ता खेलाडी क्लबमा अनुबन्ध गरे । अनिललाई लाग्यो, नेपालको प्रशिक्षकको अभ्यासले पुग्दैन । त्यही समय धेरै सम्पर्कले पनि काम गर्यो । विदेशी प्रशिक्षक मछिन्द्रमा आउने भए । ती थिए, योहान कालिन । उनीपछि नेपालको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक पनि बने । मछिन्द्रको सुरुवात राम्रो रहेन । सुरुवाती खेलमा रोकिने, केहीमा हार्ने नतिजा निस्कियो । जब विदेशी प्रशिक्षक कालिनले खेलाडीको क्षमता बुझे, मछिन्द्रलाई कसैले रोक्न सकेन ।
सिजनमा पाँचौ स्थानमा रहेर सुपर लिगमा पुगेको मछिन्द्रले सबैलाई चित खुवायो । सुपर लिगका सबै खेलमा जित निकाल्दै मछिन्द्र दोस्रो स्थान रह्यो । लिग सकिदाँ मछिन्द्रको शीर्ष स्थानको मनाङसंगको दुरी मात्र एक अंकको थियो ।
मछिन्द्रले ७० सालको लिगमा इतिहासकै उत्कृष्ट नतिजा आत्मसाथ गरेको थियो । क्लबको नतिजामात्र राम्रो रहेन, अनिलले त्यो सिजन ४५ लाख नाफा आर्जन गरे । उनले सबै हिसाब क्लबलाई देखाए ।
आम्दानी नभएर फुटबल छाड्ने निर्णय गरेको मछिन्द्र क्लबका पदाधिकारीको मानसिकता बदलियो । क्लबलाई पनि लाग्यो, फुटबल खेलेर फाईदा पनि हुँदो रहेछ । एन्फाभित्रको आन्तरिक विवादका कारण केही वर्ष घरेलु लिग अबरुद्ध भयो । एन्फामा नयाँ नेतृत्व आयो । मछिन्द्रले त्यसपछि आफैले टिम तयार गर्यो । एन्फाको नयाँ नेतृत्वले आफ्नो कार्यकालको पहिलो सिजन रेलिगेशन बिनाको लिग गर्यो । त्यो सिजन मछिन्द्र पुछारदेखि दोस्रो बन्यो । र अर्को सिजनका लागि बोक्यो, ऋणात्मक एक अंक ।
अर्थात मछिन्द्रले अर्को सिजन ‘माइनस’ एक अंकबाट लिगको सुरुवात गर्नुपर्ने भयो । क्लबमा पुनः नयाँ कार्यसमिति आयो । अनिललाई छलफलमा बोलायो । अनिल पुरानै प्रस्ताव दोह¥याए, सबै जिम्मेवारी आफुले लिने, नाफा घाटा आफ्नै रहने ।
क्लबले मानेन । समुदायको क्लब भएकाले मिलेर फुटबल चलाउने सहमती बन्यो । अनिल पुन फुटबलमा फर्कने भए । पुरै व्यवस्थापनको जिम्मेवारी लिए । उनी प्रस्ट थिए, फुटबलमा व्यवसायीक घराना नल्याएसम्म यो पार लाग्दैन । उनी पैसा र फुटबल बुझेका पात्रको खोजीमा थिए । उनले साझेदारको रुपमा भेटे, शिव घले । देशकै ठुलो व्यवसायीक घराना भाटभटेनीमा आबद्ध शिव मछिन्द्रको साझेदार बने । पैसा पनि भएका र फुटबल पनि बुझेका शिवसँगको साझेदारीले मछिन्द्र आर्थिक रुपमा बलियो बन्यो ।
त्यसपछि बाँकी सबै इतिहास बन्यो ।
मछिन्द्रले राष्ट्रिय फुटबलका अधिकांश खेलाडी क्लबमा अनुबन्ध गर्यो । मोटो रकम सहित घरेलु फुटबलका स्टार खेलाडी भित्र्यायो । खेलाडीलाई सबै सुविधा दियो, जे उनीहरु चाहन्छन् ।
नतिजाको रुपमा मछिन्द्रले पहिलो पटक २०७६ सालको लिग उपाधि कब्जा गर्यो ।
‘फुटबल खेलेर घाटामा जान नपरोस भन्ने सोच थियो ।’ मछिन्द्रको सफलताको कथाबारे अनिल भन्छन्, ‘फुटबल खेलेर ब्यापार गरौ भन्ने सोचले यो नतिजा आएको हो । निशंकोच भन्नुपर्दा, फुटबलमा पैसा कमाउने लक्ष्य राखेर यो नतिजा प्राप्त भएको हो ।’
ए डिभिजन खेल्ने अधिकांश क्लब ऋणमा चल्छन् । ती धेरै चन्दामा निर्भर छन् । फुटबल त्यसरी नचल्ने अनिल बताउँछन् । ‘फुटबल पहिले जस्तो छैन । खल्तिको पैसा हालेर, चन्दा मागेर चल्दैन ।’ उनी भन्छन्, ‘सबै क्लब व्यवसायीक रुपमा चल्नैपर्छ । लगानी पनि गर्ने र फाइदा पनि खोज्न पर्छ ।’
‘रेलिगेशनबाट बच्ने टिम बनाउन पनि ८०÷९० लाख खर्च भैहाल्छ । क्लबले कति समय रेलिगेशनबाट बच्नकै लागि मात्र खेल्ने ? नीजि क्षेत्रको साझेदारीले मछिन्द्र बदलिएको हो । वास्ताविकता यहिँ हो ।’ उनी थप्छन् ।
झण्डै ३२ वर्ष बी डिभिजन, करिब २२ वर्ष ए डिभिजन खेलेको मछिन्द्रको चित्र पछिल्लो समय फेरिएको छ । मछिन्द्रको सफलता हरेक क्लबका लागि एउटा सिक्नुपर्ने पाठ बनेको छ । नेपालको फुटबल पूर्ण व्यवसायीक बनिसकेको छैन । तर पछिल्लो समय खेलकुदमा व्यवसायीक घरानाको चासो र आबद्धता उत्साहजनक छ । फुटबल चलाउने क्लबले त्यसलाई चिन्न सक्नुपर्ने अनिल बताउँछन् ।
चालू सिजनका लागि मछिन्द्रले २ करोड २० लाखको अनुमानित बजेट बनाएको छ । करोड बढी रकम प्रायोजकमार्फत भित्र्याएका अनिल लिगको उपाधि जित्दा समेत क्लब घाटामा जाने बताउँछन् । तर मोफसलका प्रतियोगिताले क्लबलाई आर्थिक रुपमा उकास्ने उनको विश्वास छ । त्यसो भए फाइदामै नजाने फुटबलमा उनी किन लगानी गरिरहेका छन् ?
‘सबै कुरा फाइदा हेरेर हुदैन । क्लबमा लगानी गरेर राष्ट्रिय टिमलाई सहयोग गरेको जस्तो लाग्छ ।’ उनी भन्छन्, ‘फुटबल खेलाडी हामीलेनै बनाउने हो । खेलाडीलाई काम दिने हो, रोजगार दिने हो ।’
‘क्लबबिना एन्फा एक्लै त चल्न सक्दैन । राष्ट्रिय टिम बनाउन गाह्रो हुन्छ । क्लबले त्यसैमा सहयोग गर्ने हो ।’ उनी थप्छन् ।
अनिल काठमाडौंको मछिन्द्र बहालमा जन्मिए । यहाँकै गल्ती, चौरको फुटबल हेर्दै हुर्किए । रंगशालामा फुटबल हेर्ने, टुँडिखेलमा फुटबल खेल्ने उनको दिनचर्या रह्यो । फुटबल खेल्दै हुर्किएका अनिलले स्कुल स्तरसम्म राम्रै फुटबल खेले । क्लबमा भने उनले अवसर पाएनन् । बी डिभिजन खेल्ने लिस्टमा नाम त हुन्थ्यो, तर प्रशिक्षकले कहिल्यै विश्वास गरेनन् ।
रहरले मात्र नहुने रहेछ । अनिल राम्रा खेलाडी त बन्न सकेनन् । तर अहिले व्यवस्थापकको रुपमा खुबै जमेका छन् । समकालिन नेपाली फुटबलको मछिन्द्र नयाँ ‘शक्ति’ हो । अनिल त्यही मछिन्द्रको भाग्य बदल्ने ‘मास्टरमाइन्ड’ हुन् ।