काठमाडौं । नेपाल बक्सिङ संघका पदाधिकारीले माघ १५ गते आह्वान गरिएको संघको साधारण सभा रोक्न माग गरेका छन् ।
संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र लेख्दै माघ १५ गतेका लागि तय गरिएको साधारण सभा रोक्न माग गरेका हुन् ।
संघको नेतृत्व विगत लामो समयदेखि एकलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको आरोप लगाउँदै बहुसंख्यक पदाधिकारीलाई पत्तो नदिएर गर्न लागिएको साधारण सभा रोक्न माग गरिएको छ ।
राम अवाले नेतृत्वको बक्सिङ संघले माघ १५ गते ललितपुरको क्लासिक बेङ्क्वेटमा साधारण सभाको आयोजना गरेको छ ।
महासचिव भट्टाचार्य र कोषाध्यक्ष सुजखुले वार्षिक साधारणसभा रोक्न माग गर्दै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा छुट्टाछुट्टै निवेदन दिएका छन् ।
‘हामीलाई थाहै नदिई बैठक आफू नजिकका २-४ जना व्यक्तिलाई भेला पारेर बैठक बोलाउने अनि आफूखुसी निर्णय गरेर पूर्ण कार्यसमितिको बिल्ला भिराउने काम निमार्थ स्वीकार्य छैन । नेतृत्वको यस प्रकारको स्वेच्छाचारी प्रवृत्तिप्रति हामी घोर आपत्ति जनाउन चाहन्छौं ।’ निवेदनमा भनिएको छ, ‘त्यसैले माघ १५ गतेका लागि बोलाइएको साधारणसभा रोक्न जोडदार रुपमा माग गर्दछौं ।’
निवेदनमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेबाट कार्यसमितिको नेतृत्व गरेदेखि नै महासचिव र कोषाध्यक्ष पदको अवमूल्यंन गर्दै बैठकको सूचना पनि जानकारी नगराई आफ्नै नजिकका व्यक्तिहरु बसेर एकलौटी निर्णयहरु गर्दै आएको आरोप लगाईएको छ ।