काठमाडौं । एपीएफकी सरस्वती चौधरी र आर्मीका धनबहादुर बुढा क्षेत्री दोस्रो संस्करणको टाइगर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
महिलातर्फ एपीएफ र पुरुषतर्फ आर्मीलाई विजेता बनाउन महत्वपुर्ण भुमिका खेलेका चौधरी र क्षेत्री प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
ट्रफी सहित उनीहरुले नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा महिलाको विधागत पुरस्कारमा एपीएफकी निरुता ठगुना उत्कृष्ट सर्भर, आर्मीकी कृपा अधिकारी उत्कृष्ट सेटर, एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर, न्युडायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिब्रो, आर्मीकी शान्तिकुमारी थारु उत्कृष्ट स्पाइकर र एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए ।
यस्तै, पुरुषतर्फको विधागत पुरस्कारमा पुलिसका इम राना उत्कृष्ट सर्भर, आर्मीका हरिहजुर थापा उत्कृष्ट सेटर, हेल्प नेपालका अमित गुलिया उत्कृष्ट ब्लकर, आर्मीका इश्वर थापा उत्कृष्ट लिब्रो, हेल्प नेपालका भिनित कुमार उत्कृष्ट स्पाईकर र आर्मीका जगतबहादुर सिंह उत्कृष्ट प्रशिक्षक चुनिए ।
विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको महिलातर्फको उपाधि एपीएफ र पुरुषतर्फको उपाधि आर्मीले जितेको छ ।