पोखरा । दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको फाइनल खेल आज शनिबार हुँदैछन् ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने पुरुषको फाइनलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र हेल्प नेपालबीचको फाइनल खेल दिउँसो १२:३० बजे सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रनेछ ।
यस्तै महिलातर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र एपीएफबीचको खेल बिहान १०:३० बजे सुरु हुनेछ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३/३ लाख पाउने छन् ।
यस्तै उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५/२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०/१० हजारसहित ट्रफी प्रदान गरिने छ ।