पोखरा । विभागीय टिम एपीएफ क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार न्यु डायमण्ड स्पोर्ट्स क्लब नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा पराजित भएपछि एपीएफ फाइनल पुगेको हो ।
अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणको अन्तिम खेलमा पुलिसले न्यु डायमण्डलाई २५-२०,२५-२० र २५-२३ ले हराएको हो ।
यस जितपछि पुलिसले ४ खेलमा ६ अंक जोड्यो । तर, पुलिस चौंथो स्थानमा रह्यो ।
न्यु डायमण्डले ४ खेलमा ७ अंक जोड्यो । न्यु डायमण्ड तेस्रो स्थानमा रह्यो ।
एपीएफले ४ खेलमा ८ अंक जोड्यो । र, लिगको दोस्रो स्थानमा रहेर फाइनल यात्रा तय गरेको हो ।
आर्मीले ४ खेलमा ९ अंक जोड्यो । आर्मी शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।