पोखरा । हेल्प नेपाल दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार साविक विजेता गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।
हेल्प नेपालले गण्डकीमाथि २५-१८, २५-१६ र २५-२३ को सेटमा जित निकाल्यो ।
यस जितसँगै हेल्पले १० अंक जोडेको छ । हेल्प पुरुषतर्फ फाइनल पुग्ने पहिलो टोली बनेको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।