पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।
आर्मीले पुलिसमाथि २१-२५,२५-१८,२५-२१ र २५-१३ को जित निकालेको हो ।
यस जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोड्यो ।
अब आर्मीले उपाधिका लागि एपीएफ र न्यु डायमण्ड मध्ये एक टोलीसँग खेल्नेछ ।
एपीएफको ८ अंक छ भने न्यु डायमण्डको ७ अंक रहेको छ ।
एपीएफले शुक्रबार टाइगर ग्रुपलाई ३-१ को सेटमा हराएको छ ।
एपीएफले टाइगरमाथि २५-१४,२५-२०,२३-२५ र २८-२६ को जित निकालेको हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।