पोखरा । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार टाइगर ग्रुप पोखरालाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीले टाइगरमाथि २५-२२, २५-१९ र २६-२४ को जित निकालेको हो ।
यस जितसँगै आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
टाइगरको यो लगातार तेस्रो हार हो ।
महिलातर्फ नै न्यु डायमण्ड र नेपाल पुलिसबीचको खेल भने स्थगित भएको छ । खराब प्रकाशको कारण चौंथो सेट चलिरहदा खेल स्थगित गरिएको हो ।
यस खेलमा न्यु डायमण्ड २-१ ले अघि रहेको छ । चौंथो सेटमा पुलिस ११-८ ले अघि रहेको छ ।
आयोजकले दुबै टोलीसँग छलफल गरेर बाँकी खेलको टुंगो लगाउने छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।