पोखरा । हेल्प नेपालले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै हेल्पले लगातार दोस्रो जित निकालेको हो ।
पहिलो सेट २५-२३ ले गुमाएको हेल्पले त्यसपछिको सेटमा उत्कृष्ट पुनरागमन गरेको थियो । हेल्पले दोस्रो सेट २५-२०,तेस्रो सेट २५-१५ र चौंथो सेट २५-१९ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
यस जितसँगै हेल्पले ७ अंक जोडेको छ । हेल्प दोस्रो स्थानमा रहेको छ ।
एपीएफ भने अंक विहीन रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।