पोखरा । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बिहीबार गण्डकी प्रदेशलाई ३-१ को सेटमा हराउँदै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीले गण्डकीमाथि २५-१५,२०-२५,२५-१५ र २६-२४ को सेटमा जित निकालेको हो ।
यस जितसँगै आर्मीले ३ खेल ६ अंक जोडेको छ । गण्डकीको यो दोस्रो हार हो ।
आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई हराएको थियो । तर, दोस्रो खेलमा आर्मी हेल्प नेपालसँग पराजित भएको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।