पोखरा । एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा बुधबार न्यु डायमण्डलाई ३-२ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो ।
रोमान्चक बनेको खेलको पहिलो सेट न्यु डायमण्डले २५-२१ ले जितेको थियो । तर, दोस्रो सेट एपीएफले २५-२१ ले आफ्नो बनायो ।
तेस्रो सेट न्यु डायमण्डले २५-१० ले जित्दै २-१ को अग्रता बनायो । चौंथो सेट एपीएफले २५-१२ ले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो ।
त्यसपछि पाँचौ सेटमा एपीएफले १५-८ ले जित्दै खेल आफ्नो बनाएको हो ।
जितसँगै एपीएफले ३ खेलमा ५ अंक जोडेको छ ।
न्यु डायमण्डको यो पहिलो हार हो । न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ ।
न्यु डायमण्ड शीर्ष स्थानमा रहेको छ ।
महिलातर्फ बुधबार भएको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले जित निकालेको थियो ।
आयोजक टाइगर ग्रुपलाई ३-० को सोझो सेटमा हराएर पुलिसले पहिलो जित निकालेको हो ।
पुलिसले टाइगरमाथि २५-२०, २५-१७ र २५-२२ को जित निकालेको हो ।
पुलिस पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।
टाइगरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा टाइगर न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ ।
राउण्ड रोविन लिगको आधारमा जारी प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।