पोखरा । त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करण टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ पहिलो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।
पहिलो सेट गुमाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै एपीएफलाई हराएको हो ।
पहिलो सेट एपीएफले २५-१८ ले जितेको थियो । तर, त्यसपछिको सेट २५-१९, २५-२० र २५-१४ ले जित्दै आर्मीले पहिलो जित निकालेको हो ।
जितसँगै आर्मीले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा आर्मी न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग पराजित भएको थियो ।
एपीएफको यो पहिलो हार हो । पहिलो खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई हराएको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।