पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा मंगलबार साविक विजेता गण्डकी प्रदेशलाई ३-० को सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
लगातार दोस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीलाई २५-२२, २५-१८ र २५-२० ले हराएको हो ।
जितसँगै पुलिसले २ खेलमा ५ अंक जोडेको छ । र, पुलिस शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा पुलिसले हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो ।
गण्डकीको यो पहिलो हार हो । पहिलो खेलमा गण्डकीले एपीएफलाई हराएको थियो ।
गण्डकीले २ खेलमा ३ अंक जोडेको छ।
प्रतियोगिता अन्तर्गत नै मंगलबार त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै सुखद सुरुआत गरेको छ ।
विभागीय डर्बीमा आर्मीले एपीएफमाथि २५-१६, २२-२५, २५-१५ र २५-२१ को सेटमा जित निकालेको हो ।
जितसँगै आर्मीले पहिलो खेलमै ३ अंक प्राप्त गरेको छ । एपीएफको यो लगातार दोस्रो हार हो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।
त्यस्तै महिलातर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब , न्यु डायमण्ड र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहने छ ।
प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।