पोखरा । गण्डकी प्रदेशले दोस्रो टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सोमबार एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो ।
गण्डकीले एपीएफमाथि २५-१७, २५-२२ र २५-१७ को सेटमा जित निकालेको हो ।
पुरुषतर्फ पहिलो खेलमा नेपाल पुलिस क्लबले हेल्प नेपाललाई ३-२ को सेटमा हराएको थियो ।
प्रतियोगिता अन्तर्गत नै सोमबार महिलातर्फ एपीएफ क्लब र न्यु डायमण्ड स्पोर्ट्स क्लबले जित निकालेका छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहेको छ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ विभागीय टिमहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशको टिमको सहभागिता रहेको छ ।
त्यस्तै महिलातर्फ नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब , न्यु डायमण्ड र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहने छ ।
प्रतियोगिताको महिला र पुरुष उपाधि विजेता टिमले समान ३÷३ लाख, उपविजेता टिमले १ लाख ५० हजार, तेस्रो हुने टिमले समान ७५ हजार र सान्त्वना हुने टिमले ३५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई समान २५÷२५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई समान १०÷१० हजारसहित ट्रफी प्रदान गरिने छ ।