काठमाडौं । कर्णाली प्रदेशमा भलिबलको अन्तराष्ट्रिय स्तरको कभर्डहल बन्ने भएको छ ।
राष्ट्रिय महिला भलिबल टिमले एभीसी सेन्ट्रल जोनको उपाधि जितेर फर्किएपछि देशमा भलिबल खेलको कभर्डहल नभएको गुनासो गरेको थियो ।
खेलाडी र भलिबल खेलको पूर्वाधार अभावलाई ध्यानमा राखेर कर्णाली प्रदेश सरकारले सुर्खेतमा अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल बनाउने भएको हो ।
प्रदेश खेलकुद परिषद्, कर्णाली प्रदेशका सदस्य सचिव विश्वमिश्र सञ्जेलले कर्णालीमा अन्तराष्ट्रिय स्तरको भलिबलको कभर्डहल बन्ने बताए ।
उनले दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको अन्तराष्ट्रिय स्तरको रंगशालाभित्र भलिबलको छुट्टै कभर्डहल बन्ने उल्लेख गरे ।
उनले १५ सय दर्शक क्षमताको कभर्डहल र बाहिर दुई वटा भलिबल कोर्ट बनाउने निर्णय भएको खेलपाटीलाई सुनाए ।
'कर्णाली प्रदेशले दुई वर्षभित्र अन्तराष्ट्रिय स्तरको भलिबल कभर्डहल बनाउने र दुई वटा अभ्यासका लागि बाहिर भलिबल कोर्ट निर्माण गर्ने भएको छ ।' उनले भने, 'कभर्डहल १५ सय दर्शक क्षमताको हुनेछ ।'
सदस्य सचिव सञ्जेलले खेलाडीले राष्ट्रिय खेल भलिबलको एउटापनि कभर्डहल नभएको गुनासो गरेपछि प्रदेश खेलकुदले यसमा निर्णय गरेको बताए ।
बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेर बिहीबार नेपाल फर्किएको राष्ट्रिय महिला भलिबल टिमले अभ्यास र प्रशिक्षणका लागि भलिबलको आफ्नै कभर्डहल नभएको गुनासो गरेका थिए ।
भलिबलको आफ्नो छुट्टै कभर्डहल नहुँदा खेलको प्रशिक्षण र प्रतियोगिता प्रभावित बन्दै आएको छ । पूर्वाधारको अभावमा समेत महिला भलिबल टिमले अन्तराष्ट्रिय स्तरमा राम्रो सफलता हात पार्दै आएको छ ।