इलाम । चार वर्षअघि मोफसलमा आयोजना हुने गोल्डकपको प्रसंगमा तत्कालिन झापा–११ का कप्तान प्रवेश कटुवाल खेलपाटीकर्मीलाई सुनाएका थिए ‘एन्फाले गर्ने चाही एन्फा कप, बाँकी त सबै गोल्डकप’ ।
उनको आशय थियो, नेपालमा हुने गोल्डकपको मापदण्डनै छैन ।
‘खेतको गरा र खोलाको बगरमा खेलाइने २५÷३० हजार राशीको प्रतियोगिता पनि गोल्डकप अनि सुविधा सम्पन्न रंगशालामा खेलाइने प्रतियोगिता पनि गोल्डकप । ५ जना खेल्न मिल्ने पनि गोल्डकप र ११ जना खेल्ने पनि गोल्डकप ।’ उनी भन्छन् ।
फुटबल प्रतियोगितालाई आयोजकले फेसनको रुपमा लिएर गोल्डकप नामाकरण गर्ने गरेको उनको बुझाइ छ ।
‘खेलप्रेमी तथा आम मानिसमा भने गोल्डकप भनिँदा स्तरीय खेल प्रतियोगिता भन्ने बुझाइ छ ।’ प्रशिक्षकको रुपमा मछिन्द्रलाई शहिद स्मारक लिग जिताएका प्रवेश भन्छन् ‘गोल्डकप प्रतियोगिता भनिरहँदा सहभागिताको बारेमा निक्कै सोच्नुपर्ने अवस्था आइसकेको छ ।’
प्रवेशकै भनाईसँग सहमत छन्, एन्फाका मानार्थ उपाध्यक्ष तथा एक नम्बर प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई ।
जथाभावी गोल्डकपका नाममा प्रतियोगिता आयोजना गरिदाँ स्तरिय प्रतियोगिताको गरिमा आँच पु¥याएको तर्क किशोरको छ ।
‘पहिला पहिला हाम्रो पालामा गोल्डकप प्रतियोगिता भनिरहँदा शिल्डमा सुनको सानो पातो टाँसिएको हुन्थ्यो । त्यही बोकेर शहर घुम्दा कम्ती सान हुन्थेन । अहिले गोल्डकप जितेको भन्दा महत्वनै रहेन ।’ ४० को दशकका खेलाडी उनी भन्छन्, ‘तर आजकाल जथाभावी खेतका गरा र आलीमा पनि गोल्डकपका नामले खेलाइन्छ । कुन हो गोल्डकप, कुन हो टोल कप छुटयाउनै गाह्रो ।’
प्रतियोगिताको स्तरियतालाई ख्याल नगर्दा प्रतिष्ठित आहा–रारा, तिलोत्तमा, महेन्द्र गोल्डकप (हाल आएर विराट गोल्डकपमा रूपान्तरण) जस्ता प्रतियोगिताको गरिमा घट्दै गएको राई बताउँछन् ।
कोभिडको महामारी आउनु अघि बर्सेनी प्रदेश एकमा मात्रै ए डिभिजनका क्लब समावेश भएका एक दर्जनका हाराहारीमा गोल्डकप आयोजना हुन्थे ।
एन्फाले २०७५–७६ को क्यालेन्डरमा समावेश गरेका २५ मध्ये १२ वटा प्रदेश एकका मात्रै प्रतियोगिता थिए । त्यसमध्येको घैलाडुब्बा गोल्डकपको पहिलो संस्करणनै आयोजना भएन ।
क्यालेन्डर बाहेक पनि थुप्रै गोल्डकपको नाममा प्रतियोगिता हुन्छन् ।
कोभिड संक्रमणको दर कम हुँदै गएपछि अहिले विस्तारै पुर्वको गोल्डकप तङ्ग्रिदै गएका छन् । तर किशोर र प्रवेशले भने झै टोलटोलमा हुने टोल कप नै अहिलेका गोल्डकप भएका छन् ।
गत वर्ष इलामको दक्षिणी क्षेत्रमा माई नगरपालिकामा ३० हजार र १५ हजार पुरस्कार राशी राखेर आयोजना गरिएको प्रथम मागुन गोल्डकपमा स्थानीय एउटा टिमबाट हिमालयन शेर्पाका डिफेन्डर (हाल संकटा क्लबमा आवद्ध) निरोज बस्नेत सहभागि थिए ।
प्रतियोगिताको फाइनलमा नेपाली राष्ट्रिय टोलीका पुर्व डिफेन्डर देवेन्द्र तामाङ सम्मिलित शनिश्चरेलाई हराएर निरोजको टिमले उपाधि जित्यो । तर निरोजलाई आफु सम्मिलित टिमको नाम भन्न विजेताको प्रमाणपत्रनै हेर्नुपर्यो ।
यस वर्ष दोश्रो संस्करणमा बिजेतालाई ४० हजार रुपैया पुरस्कार राखिएको थियो । पछिल्लो समय टोलटोलमा गोल्डकपको नाममा प्रतियोगिता आयोजना हुन्छ । र त्यहाँ राष्ट्रिय टोलीका खेलाडीहरु समेत देखिन्छन् ।
फुटबलको नियमनकारी निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)ले बार्षिक क्यालेन्डरमा समावेश भएका प्रतियोगितालाई थोर बहुत आर्थिक एवम प्राविधिक रुपमा सघाइरहेका थिए । तर गोल्डकपमा मापदण्डनै नहुँदा प्रतिष्ठित प्रतियोगिता आयोजकनै तनावमा छन् ।
देशमा सबैभन्दा बढि दर्शक तान्न सफल मध्यको एक इलामको माइभ्याली गोल्डकप आयोजक समितीका अध्यक्ष धिरेन चेम्जोङ मापदण्ड नभएपनि एन्फाले नै प्रतियोगिताको नाममा गोल्डकप राख्न लगाएको बताउँछन् ।
‘हामी त माइभ्याली कपको नामबाट प्रतियोगिता आयोजना गर्न चाहान्थ्यौ तर एन्फाले प्रतियोगिताको नाममा गोल्डकप नराखे सुविधा कटौती गर्ने भनेपछि माइभ्याली गोल्डकप राख्नु परेको हो ।’ उनले भने ।
एन्फाले चैत्रसम्म ६ वटा गोल्डकप आयोजनाको लागि स्विकृती प्रदान गरेको छ । जसमा माघमा २ र फागुनमा ४ प्रतियोगिता छन् ।
माघ ५ गतेदेखी १५ गतेसम्म पोखरामा आहा रारा गोल्डकप, माघ १६ देखी २६ सम्म मकवानपुरमा सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता, फागुन १४ देखी २१ सम्म बुटवलमा तिलोत्तमा गोल्डकप र इटहरीमा इटहरी गोल्डकप, फागुन १९ देखी २९ गते सम्म पोखरा गोल्डकप र फागुन २६ देखी चैत्र पाँच सम्म सिमरा गोल्डकपलाई एन्फाले स्विकृती प्रदान गरेको छ ।
यस वर्ष पनि गाह्रो छ : महासचिव तुलाधर
कुन स्तरको प्रतियोगितालाई गोल्डकपको दर्जा दिने भन्ने बिषयमा एन्फाको मापदण्ड नबनाएको हैन तर कार्यान्वयनमा एकदमै फितलो देखिन्छ । २०७६ असारमा मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएका आयोजकको सुझावका आधारमा प्रतियोगिता वर्गिकरणको मापदण्ड तयार गरेका थिए ।
तर एन्फा पदाधिकारी मापदण्ड कार्यान्वयनका लागि इच्छुक देखिदैनन् । एन्फाका महासचिव इन्द्रमान तुलाधरले मापदण्ड कार्यान्वयन जटिल रहेको बताए । उनले मापदण्ड कार्यान्वयको लागि एन्फाले धेरै चुनौतीहरु सामना गर्नुपर्ने अवस्था देखिएको बताए ।
यस वर्षबाट लागु हुन्छ त मापदण्ड ? भन्ने खेलपार्टीकर्मीको प्रश्नमा तुलाधरले भने ‘गाह्रो छ ।’
के छ त मापदण्डमा
समितिले प्रतियोगिता हुने स्थान, खेल मैदानको अवस्था, सुरक्षा व्यवस्था, सहभागी टिमको संख्या, सहभागी टिमको स्तर, बिदेशी टिमको सहभागिता, प्राविधिक जनशक्तिको प्रयोग, प्रतियोगिता व्यवस्थापन, पुरस्कार राशी, मेडिकल सुविधा, प्रतियोगिताको निश्पक्षता, ईमान्दारीता र पारदर्शीताका आधारमा मोफसलका प्रतियोगितालाई तीन तहमा वर्गिकरण गरेको छ ।
एन्फाले तोकेको मापदण्ड अनुसार प्रतियोगिता आयोजना गर्न रंगशाला वा स्तरीय खेल मैदान व्यवस्थित तरिकाले तारवार गरि न्युनतम एक हजार दर्शक क्षमताको स्थायी वा अस्थायी प्याराफिट हुनुपर्ने छ । सुरक्षाको दृष्टिकोणले मैदानमा व्यवस्थित तवरले तारवार जाली राखी घाँसे मैदान वा आर्टिफिसियल टफ मैदानमा मात्र प्रतियोगिता खेलाउन पाईनेछ ।
यस्तै, ’क’ वर्गको प्रतियोगिता हुन कम्तिमा १० वटा टिमको सहभागीता हुनुपर्ने र जसमा कम्तिमा ६ वटा ए डिभिजन क्लब, दुई विदेशी क्लब र जिल्लामा दर्ता भएको टिम हुनुपर्ने मापदण्ड तोकिएको छ ।
’ख’ वर्गको प्रतियोगिता हुन कम्तिमा १० वटा टिमको सहभागीता हुनुपर्ने र जसमा कम्तीमा ६ वटा ए डिभिजन क्लब, एक विदेशी क्लब र जिल्लामा दर्ता भएको टिम हुनुपर्ने उल्लेख छ ।
यस्तै, ’ग’ वर्गको प्रतियोगिता हुन कम्तीमा ८ वटा टिम सहभागी हुनुपर्ने, कम्तीमा ४ ए डिभिजन मान्यता क्लब हुनुपर्ने र जिल्लामा दर्ता भएका क्लब र टिम हुनुपर्ने मापदण्ड तोकिएको छ ।