काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले महिला टोलीले पाएको सफलता पछाडी धेरै पीडाहरु लुकेको बताएकी छिन् ।
बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेर स्वदेश फर्किएपछि विमानस्थलमा बोल्दै अरुणाले सफलता पछाडी पीडाहरु रहेको बताएकी हुन् ।
'हामीले यो सफलता त हासिल गर्यौं तर यो सफलताको पछाडी धेरै पीडाहरु लुकेको छ,' कप्तान अरुणाले भनिन्, 'हामीले जानु भन्दा अगाडि दुई ट्रेनिङ गर्न पाएनौं त्यस्तो अवस्थामा पनि हामीले यसरि पदक ल्याउन सफल भएका छौँ । आगामी दिनमा यो कुराहरु मिलाएर जान सक्यौं भने अझै राम्रो सफलता पाउन सक्छौं जस्तो लाग्छ ।'
ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपालको महिला टिम च्याम्पियन बनेको थियो । नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो ।
यस्तै अरुणाले यो सफलताले थप जिम्मेवारी थपिएको समेत बताईन ।
'तपाईहरुले हाम्रो हौसला बढाईदिनुभएको छ । जुन सफलता हासिल गरेका छौँ । अझै हामीले जिम्मेवारी थपिएको महशुस गरेका छौँ । आगामी दिनमा अझै राम्रो गर्ने बाचा गर्न चाहन्छु,' अरुणाले भनिन ।
कप्तान अरुणाले भलिबल नेपालको राष्ट्रिय खेल भएपनि भलिबलको कभर्डहल नभएकोमा गुनासो व्यक्त गरिन् । अरुणाले आउने दिनमा कभर्डहल देख्न पाईने अपेक्षा रहेको बताईन ।
कप्तान अरुणाले शाख जोगाउने दबाबको कारण फाइनल खेल सोचेजस्तो सहज नभएको बताए ।
'हाम्रो सुरुआती खेल राम्रो भएन । लिग चरणमा उज्वेकिस्तानलाई सोझो सेटमा जितेपनि फाइनलमा शाख जोगाउने दबाबले गर्दा टिमले राम्रो गर्न नसकेको जस्तो लाग्छ,' उनले थपिन ।