काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिला तर्फको उपाधिका लागि नेपालले आज मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त बिहान ११:१५ बजे सुरु हुनेछ ।
साविक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर उपाधि जित्ने योजनामा रहेको छ । जारी प्रतियोगितामा नेपाल अपराजित रहेको छ । नेपाल अपराजित रहदै च्याम्पियन बन्ने दाउमा समेत रहेको छ ।
यता, उज्वेकिस्तान नेपालसँग बदला लिदै उपाधि जित्न चाहन्छ। राउण्ड रोबिनको लिग खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।
नेपाल शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । उज्वेकिस्तान दोस्रो स्थानमा रहदै नेपालसँगको भेट पक्का गरेको हो ।
यस्तै महिलातर्फको तेस्रो स्थानका लागि श्रीलंका र किर्गिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल अपरान्ह १:१५ बजे सुरु हुनेछ ।
राउण्ड रोबिनको लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको थियो ।