काठमाडौं । नेपालको पुरुष टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा दोस्रो जित निकालेको छ ।
ढाकामा आइतबार माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।
नेपालले माल्दिभ्समाथि २७-२५, २५-१९ र २५-२३ को सेटमा जित निकालेको हो ।
खेलमा नेपालका मान बहादुर श्रेष्ठ प्लेयर अफ दि म्याच चुनिए ।
यस जितसँगै नेपालले ४ खेलमा ६ अंक जोडेको छ । नेपालको फाइनल पुग्ने सम्भावना कायम रहेको छ । माल्दिभ्स अंक विहीन रहेको छ ।
यस अघि पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो ।
दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो ।
महिलातर्फ नेपाल फाइनल पुगिसकेको छ ।
आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५-२०,२५-२३ र २५-१४ को जित निकाल्यो ।
नेपालको यो लगातार चौंथो जित हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।
नेपालले ४ खेलमा ११ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।
उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।
नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ ।
प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।