सन्दीपसहित ११ क्रिकेटर पिएसएल ड्राफ्टमा
२०२१ डिसेम्बर ७, मङ्गलबारखेलपाटी संवाददाता

काठमाडौं । आगामी वर्ष हुने पाकिस्तान सुपर लिग (पिएसएल)को ड्राफ्टमा ११ नेपाली क्रिकेट खेलाडी परेका छन् ।
खेलाडीहरुलाई ड्राफ्ट अन्तर्गत प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिएको छ ।
अष्ट्रेलियाको विग ब्यास लिग (बिबिएल) खेल्न गएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरी अन्तर्गत रहेका छन् । त्यसैगरी विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी गोल्ड अन्तर्गत परेका छन् । सोमपाल कामी, सुशन भारी, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सरार्फ, बसन्त रेग्मी, विक्रम सोब र सहाब आलम भने सिल्भर क्याटेगोरीमा परेका छन् । ड्राफ्टमा ३ सय ५६ विदेशी खेलाडी रहेका छन् । पिएसएलमा सहभागी प्रत्येक टोलीले प्लाटिनम, डायमन्ड, र गोल्ड क्याटेगोरीबाट समान तीन–तीन खेलाडी तथा सिल्भरबाट पाँच खेलाडी छान्नु पर्ने हुन्छ । त्यसैगरी, इमर्जिङ र बैकल्पिक दुई–दुई खेलाडी अनुबन्धन गर्नुपर्ने हुन्छ । छनोट भएको खण्डमा प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार अमेरिकी डलर तथा सिल्भरमा रहेकाले १५ हजार देखि २५ हजार अमेरिकी डलर सम्म प्राप्त गर्नेछन् । पिएसएल आगामी जनवरी २७ देखि फेब्रुअरी २७ सम्म एक महिना संचालन हुनेछ ।
सन्दीप लामिछाने