काठमाडौं । प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिस बक्सिङ प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ । आयोजक नेपाल बक्सिङ संघले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ देखी ८ गतेसम्म काठमाडौंमा हुने जानकारी गराएको छ ।
प्रतियोगितालाई यू–१९ र यू–२२ वर्षमुनि गरी दुई उमेर समूहमा विभाजन गरिएको छ । यू–१९ वर्षमुनिको महिला र पुरुषतर्फ ५÷५ वटा तौल समूह रहेका छन् । महिलातर्फ ४८ केजी,५१ केजी,५४ केजी,५७ केजी र ६० केजी तौल समूह समावेश गरिएको छ । त्यस्तै पुरुषतर्फ ४९,५२,५६,६० र ६४ केजी तौल समूह रहेका छन् ।
यू–२२ वर्षमुनिको महिलातर्फ ६ वटा र पुरुषतर्फ ८ वटा तौल समुह रहेका छन् । महिलातर्फ ४८केजी,५१ केजी,५४ केजी,५७ केजी ६० केजी र ६४ केजी तौल समूह समावेश गरिएको छ । यू–२२ बर्पमुनीको पुरुषमा ४९,५२,५६,६०,६४,६९,७५ र ८१ केजी तौल समावेश गरिएको छ ।
आयोजक संघका अध्यक्ष राम अवालले नोभिस प्रतियोगितामा यसअघि औपचारिक बक्सिङ प्रतियोगिता नखेलेका महिला र पुरुष खेलाडीहरुले पनि सहभागीता जनाउन पाउने बताए । यस्तै संघका बरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनवहादुर केसीले देश भरबाट लगभग १ सय ८० खेलाडीको सहभागिता रहने जानकारी दिए ।
महिला र पुरुष यू–१९ तथा महिला र पुरुष यू–२२ गरी ४ वटै उमेर समुहमा टिम च्याम्पियन ट्रफी प्रदान गरिने छ ।