काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीले नेपाल क्रिकेट संघ (क्यान) लाई स्पष्टीकरण बुझाएका छन् ।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले स्पष्टीकरण बुझाएका हुन् ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले खेलाडीले स्पष्टीकरण बुझाएको र त्यसमा अध्ययन भईरहेको बताए ।
'स्पष्टीकरण भन्दा पनि खेलाडीले पत्रहरु पठाएका छन् । त्यसमा अध्ययन गर्नेछौँ । अध्ययनपछि अन्य कार्य अघि बढ्नेछ,' खेलपाटीसँग मल्लले भने ।
कार्यवाहक सचिव मल्लको संयोजकत्वमा गठित ५ पाँच सदस्सीय समितिले खेलाडीले बुझाएको स्पष्टीकरणमा अध्ययन गर्ने छन् । समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् ।
खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएको कारण क्यानले चार खेलाडीसँग स्पष्टीकरण मागेको थियो ।
क्यानको सेन्ट्रल कन्ट्रयाक्टको विषयमा खेलाडीहरुले असन्तुष्टि पोख्दै आएका छन् । अधिकांस खेलाडीले सेन्ट्रल कन्ट्रयाक्ट सम्झौतामा हस्ताक्षर गरेका छैन् । जसको कारण क्यानले सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक गर्न सकेको छैन ।
क्यानले गत वर्षबाट राष्ट्रिय टिमका खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट दिदै आएको छ ।
वर्गीकरण अनुसार 'ए' श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, 'बी' श्रेणीकाले ४० हजार र 'सी' श्रेणीका खेलाडीले ३० हजार मासिक पाउँदै आएका छन् ।