काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारलाई जितका लागि १ सय ३० रनको लक्ष्य दिएको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन बनायो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ५० रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
रुबिनाले ४८ बलमा ५० रन पूरा गरेकी हुन् । रुबिनाले ४ चौका र १ छक्का प्रहार गरिन् ।
रुबिनाको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।
यस्तै कविता कुँवरले ३१ रन जोड्दा ज्योति पाण्डेले ६ रन जोडिन ।
सरिता मगर ४, काजल श्रेष्ठ ३ तथा डोली भट्ट सुन्य रनमा आउट भईन् ।
अप्सरी बेगम २३ रनमा अविजित रहदा कविता जोशी सुन्य रनमा अविजित रहिन् ।
कतारकी एन्जेलिन मारेले २ विकेट लिईन् । एलिना खान, साची ढाटवाल र सबिजाले एक एक विकेट लिईन् ।
आज नेपाल सिरिज कब्जा गर्ने योजनासहित मैदान उत्रिएको छ ।
नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो । र, नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
दोस्रो खेलमा जित निकालेमा नेपालले एक खेल अगाबै सिरिज आफ्नो बनाउनेछ । अन्तिम खेल बिहीबार हुनेछ ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो । नेपाली महिला टोलीको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज हो ।
विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।