काठमाडौं । कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बुधबार घरेलु टोलीसँग दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ ।
नेपालले दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा कतारको सामना गर्नेछ । नेपाल र कतारबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल सिरिज कब्जा गर्ने योजनामा हुनेछ ।
नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो । र, नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
दोस्रो खेलमा जित निकालेमा नेपालले एक खेल अगाबै सिरिज आफ्नो बनाउनेछ । अन्तिम खेल बिहीबार हुनेछ ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो । नेपाली महिला टोलीको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज हो ।
विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।