काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा कतारलाई पराजित गरेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा मंगलबार नेपालले कतारलाई १ सय १९ रनले हराएको हो ।
जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।
नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो ।
कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ रन जोडिन ।
केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाईन् ।
कतारका पाँच खेलाडी सुन्य रनमा आउट भए ।
कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिईन् ।
कविता कुँवर र सिता राना मगरले २/२ तथा करुणा भण्डारीले १ विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
महिला टोलीको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा कीर्तिमानी योगफल हो ।
नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भईन् ।
उनी खेलको प्लेयर अफ दि म्याच समेत चुनिईन् ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।
यस्तै सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन ।
कप्तान रुबिना क्षेत्री सुन्य रनमा आउट भईन । कविता कुँवर ८ रनमा अविजित रहदा अप्सरी बेगम सुन्य रनमा अविजित रहिन् ।
कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिईन् ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।