काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारलाई जितका लागि १ सय ४७ रनको लक्ष्य दिएको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनायो ।
महिला टोलीको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा कीर्तिमानी योगफल हो ।
नेपालका लागि इन्दु वर्माले अर्धशतकीय इनिङ्स खेलिन् । इन्दु ४७ बलमा ५५ रन बनाएर रिटायर्ड हर्ट भईन् ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो । टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाउने उनी पहिलो नेपाली महिला खेलाडी समेत बनिन् ।
यस्तै सिता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन ।
कप्तान रुबिना क्षेत्री सुन्य रनमा आउट भईन । कविता कुँवर ८ रनमा अविजित रहदा अप्सरी बेगम सुन्य रनमा अविजित रहिन् ।
कतारकी सबिजा पानायन र एन्जेलिन मारेले एक एक विकेट लिईन् ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।
महिला क्रिकेट टोलीले पहिलो पटक टी-ट्वान्टी सिरिज खेल्न लागेको हो ।
सिरिज अन्तर्गत महिला टोलीले कतारसँग मंसिर १ मा दोस्रो र मंसिर २ गते तेस्रो खेल खेल्नेछन्।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ । छनोटका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।