काठमाडौं । न्यूजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि हात पार्यो । यो अष्टे«लियाको लागि टी–ट्वान्टीको पहिलो उपाधि थियो ।
टी–ट्वान्टी विश्वकपको उपाधिसँगै अन्य तथ्यांक हेर्न लायक छ ।
सर्वाधिक रन
पाकिस्तानका कप्तान बाबर आजमले ३ सय भन्दा बढी रन जोड्दै सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ६ खेलमा ३ सय ३ रन तथा चार अर्थशतक प्रहार गरेका थिए ।
फाइनलमा अर्धशतक पुरा गरेका डेभिड वार्नरले २ सय ८९ रन जोडेका थिए भने फाइनल अघि आईसियुमा रहेका पाकिस्तानकै मोहम्मद रिजवानले २ सय ८१ रन बनाएका थिए ।
व्यक्तिगत सर्वाधिक रन
इंग्ल्यान्डका जोस बटलरले मात्र प्रतियोगितामा शतक पुरा गरेका थिए ।
उनले एक सय एक रन जोडेका थिए ।
दक्षिण अप्रिकाका रासि भान डेर डसनले ९४ तथा न्यूजिल्यान्डका मार्टिन गुप्टिलले ९३ रन जोडे ।
सर्वाधिक विकेट
श्रीलंकाका स्पीनर वानिन्डु हसरंगा प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी बने ।
उनले १६ विकेट हात पारेका थिए जसमा एउटा ह्याट्रिक समावेश थियो ।
अष्ट्रेलियाका एडम जाम्पा तथा न्यूजिल्यान्डका ट्रेन्ट बोल्टले समान १३–१३ विकेट हात पारेका थिए ।
डट बल
टी–ट्वान्टी क्रिकेटलाई ब्याट्सम्यानको खेल भनिएकाले बलरहरुले विकेट नलिएपनि रन जोगाउने योजनाका साथ आउनु पर्ने हुन्छ ।
यस पटकको विश्वकपमा न्यूजिल्यान्डका फास्ट बलरहरु टिम साउथी र बोल्टले समान ८५ डट बल फालेका थिए ।
श्रीलंकाका हसरंगाले ८० डट बल फाले ।
बाउन्ड्री
चौकाको सवालमा वार्नरले ३२ चौका हिर्काएका थिए भने आजमको नाममा २८ चौका रह्यो ।
यता बटलरले सर्वाधिक १३ छक्का हिर्काए भने मोहम्मद रिजवानले १२ छक्का प्रहार गरेका थिए ।