काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अपनत्व ग्रहण गर्न सरकारलाई आग्रह गरेको छ ।
फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस' ले मंगलबार एक भिडियोबाट रंगशालाको अपनत्व ग्रहण गर्न संघिय, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।
कट्टेलले आर्थिक समस्याका कारण रंगशाला निर्माण कार्य रोकिएको बताउँदै सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् ।
उनले हरेक स्थानीय सरकार, प्रदेश सरकारदेखि सिंहदरबारको ढोकामा पुगेपनि सोचेजस्तो सहयोग नपाएको गुनासो गरेका छन् ।
कट्टेलले रंगशाला निर्माणको क्रममा १७ करोड रुपैयाँभन्दा बढी ऋण लागेको बताएका छन्।
'म संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई अभिभावकत्व ग्रहण, अपनत्व ग्रहण गरिदिनका लागि आग्रह गर्छु,' कट्टेलले भनेका छन्, 'यसको निकाश र अब कसरि अघि बढ्ने भन्ने कुरा छ किनभने म १७ करोड भन्दा माथि ऋणको भारी बोकेर म हिडिरहेको छु । हामी हिडिरहेका छौँ ।'
फाउण्डेशनले जनस्तरबाट आर्थिक रकम जुटाएर रंगशाला निर्माण गरिरहेको छ । पछिल्लो समय फाउण्डेशनलाई आर्थिक अभाव झेल्नु परेको छ । आर्थिक अभावकै कारण चार महिनाबाट रंगशाला निर्माण रोकिएको छ ।
कट्टेलले ऋण लिएका व्यवसायीहरूको तारन्तार फोन गर्न थालेको समेत बताए ।
'आज निर्माणका सामग्री दिने कम्पनिहरु, व्यक्तित्वहरुले धेरै कुरी सक्नु भयो । कति कम्पनिहरु बन्द हुने स्थितिमा पुगेका छन् । उहाहरुको तारन्तार फोन आईरहन्छ । मेसेज गर्नु हुन्छ कहिले कहिले ? मसँग पनि जवाफ छैन कहिले,' उनले थपे, 'एउटा देशको सम्पति तयार परिरहदा र गर्छु भनिरहदा राज्यले एउटा अभिभावक भएर सपोर्ट गर्नु पर्ने होला । हामी सरकारलाई सघाउन हिडेका सहयोगी हौँ ।'
रंगशाला निर्माणको कामबाट हात झिकेको वा जिम्मेवारीबाट भागेको नभई सरकारलाई सहयोगका लागि आह्वानमात्र गरेको बताएका छन्।
कट्टेलले रंगशाला निर्माणको कामबाट बिचलित नभएको र चाडै पुरानै रफ्तारमा रंगशाला निर्माणको काम अघि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले केहि दिनमा रंगशाला निर्माणको विवरण र भोगाई सार्वजनिक गर्ने समेत बताए ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।