काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले ठूलो संख्यामा आवेदन परेपनि १५ जनाको अन्तर्वार्ता लिईने जानकारी गराए ।
मुख्य प्रशिक्षक नियुक्तिका लागि क्यानले छनोट समिति बनाउने र उक्त समितिले अन्तर्वार्ता लिने मल्लले बताए ।
मुख्य प्रशिक्षक नियुक्तिको विषयमा छलफल गर्न क्यानको भर्चुअल बैठक आज मंगलबार बस्ने समेत उनले बताए ।
'मुख्य प्रशिक्षक चयनको प्रक्रिया अघि बढीसकेको छ । हामीले सूची तयार गरिरहेका छौँ । करिब १५ जनाको लिस्ट तयार गरेर अन्तर्वार्ता लिने कुरा छ,' कार्यवाहक सचिव मल्लले भने, 'क्यानको बोर्ड बैठक आज छ । बैठकले छनोट समिति बनाउनेछ । छनोट समितिले अन्तर्वार्ता गरेपछि प्रशिक्षक चयन हुन्छ ।'
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ ।
क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाको आवेदन परेको हो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।
६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।