काठमाडौं । सन् २०२२ मा अष्ट्रेलियामा आयोजना हुने टी-ट्वान्टी विश्वकप ७ शहरमा आयोजना हुने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार अष्ट्रेलिया विश्वकप ७ शहरमा आयोजना हुने जनाएको छ ।
विश्वकपका खेलहरु अष्ट्रेलियाको एडिलेट, ब्रिसबेन, जिलोङ, होबार्ट, मेलबर्न, पर्थ र सिड्नीमा हुनेछ ।
विश्वकप २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुनेछ । फाइनल खेल मेलबर्न स्टेडियममा हुनेछ । प्रतियोगितामा कुल ४५ खेल हुनेछन् ।
विश्वकपमा आयोजक तथा साविक विजेता अष्ट्रेलिया, न्युजिल्याण्ड, भारत, अफगानिस्तान, बंगलादेश, पाकिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रीकाले सुपर १२ मा स्थान पक्का बनाईसकेका छन् ।
वेस्ट इन्डिज, श्रीलंका, नामिबिया र स्कटल्याण्डले पहिलो चरणमा प्रतिस्पर्धा गर्ने छन् । बाँकी ४ टोली भने ग्लोबल छनोटबाट छनोट हुने छन् ।