काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीसँग स्पष्टीकरण सोधेको छ ।
क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण मागेको हो ।
क्यानले कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीसँग स्पष्टीकरण मागेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले सेन्ट्रल कन्ट्रयाक्टको विषयमा आफूखुसी मिडियामा अभिव्यक्ति दिएको कारण स्पष्टीकरण मागिएको बताए ।
'केहि दिन अगाडी चार खेलाडीलाई स्पष्टीकरण सोधेका छौँ । सात दिन भित्र स्पष्टीकरण दिन भनेका छौँ,' कार्यवाहक सचिव मल्लले भने, 'सेन्ट्रल कन्ट्रयाक्टको विषयमा क्यानसंगको सम्झौता विपरित मिडियामा अभिव्यक्ति दिएको कारण उनीहरुसँग स्पष्टीकरण मागिएको हो ।'
कार्यवाहक सचिव मल्लले खेलाडीबाट जवाफ आएपछि अन्य काम कारबाही अघि बढ्ने बताए ।
क्यानको सेन्ट्रल कन्ट्रयाक्टको विषयमा खेलाडीहरुले असन्तुष्टि पोख्दै आएका छन् । अधिकांस खेलाडीले सेन्ट्रल कन्ट्रयाक्ट सम्झौतामा हस्ताक्षर गरेका छैन् । जसको कारण क्यानले सेन्ट्रल कन्ट्रयाक्टको सूची सार्वजनिक गर्न सकेको छैन ।
'संघले न्यायसंगत गरेको भएपनि केहि खेलाडीहरुले सेन्ट्रल कन्ट्रयाक्टमा असन्तुष्टि जनाएका छन् । त्यसैले हामीले सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गर्न सकिरहेका छैनौँ,' कार्यवाहक सचिव मल्लले थपे ।
क्यानले गत वर्षबाट राष्ट्रिय टिमका खेलाडीलाई वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्रयाक्ट दिदै आएको छ ।
वर्गीकरण अनुसार 'ए' श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, 'बी' श्रेणीकाले ४० हजार र 'सी' श्रेणीका खेलाडीले ३० हजार मासिक पाउँदै आएका छन् ।