एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ ।
फाइनल प्रवेशका लागि अष्ट्रेलियाविरुद्ध खेल्नु अघि पाकिस्तानलाई झट्का लागेको छ । पाकिस्तानका स्टार ब्याट्सम्यान मोहम्मद रिजवान र शोएब मलिकलाई रुघा–खोकीले सताएको छ ।
दुवै भरपर्दा ब्याट्सम्यान बिरामी परेका छन् । सोही कारण दुवै जना पछिल्लो दुई अभ्यास सत्रमा समेत सहभागी भएनन् ।
दुवै खेलाडी अष्ट्रेलियाविरुद्ध उत्रनेमा आशंका उत्पन्न भएको छ । बुधबार अभ्यासमा नदेखिएका दुवै खेलाडीको कोभिड–१९ को परिक्षण नेगेटिभ आएको छ ।
दुई खेलाडी अनुपस्थित रहेको अवस्थामा पूर्व कप्तान सरफराज अहमद विकेटकिपरको रुपमा रिजवानको स्थान लिन सक्नेछन् । यस्तै हैदर अलीले मलिकको स्थान लिन सक्नेछन् ।
विश्वकपमा उत्कृष्ट फर्ममा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियामाथि बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ । बाबर आजम नेतृत्वको पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम हो ।
पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्न हार ब्यहोर्नु परेको छैन । आरोन फिन्च नेतृत्वको अष्ट्रेलिया समेत पछिल्लो समय लयमा देखिएको छ ।
पछिल्लो विश्वकपमा पाकिस्तान र अष्ट्रेलिया आमने सामने भएका थिए । जसमा अष्ट्रेलियाको टिमले रोमाञ्चक जित दर्ता गरेको थियो । तर यसपटक उत्कृष्ट फर्ममा देखिएको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई कठिन पर्ने देखिएको छ ।