काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) पाकिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुदैछ ।
युएईको अबुधाबीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।
विश्वकपमा उत्कृष्ट फर्ममा रहेको पाकिस्तानले फाइनल पुग्न अष्ट्रेलियामाथि बलियो चुनौती पेश गर्ने अपेक्षा गरिएको छ । बाबर आजम नेतृत्वको पाकिस्तान जारी विश्वकपमा एक मात्र अपराजित टिम हो ।
पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्न हार ब्यहोर्नु परेको छैन । आरोन फिन्च नेतृत्वको अष्ट्रेलिया समेत पछिल्लो समय लयमा देखिएको छ ।
पछिल्लो विश्वकपमा पाकिस्तान र अष्ट्रेलिया आमने सामने भएका थिए । जसमा अष्ट्रेलियाको टिमले रोमाञ्चक जित दर्ता गरेको थियो । तर यसपटक उत्कृष्ट फर्ममा देखिएको पाकिस्तानलाई हराउन अष्ट्रेलियालाई कठिन पर्ने देखिएको छ ।
युएईमा जारी प्रतियोगितामा पाकिस्तानले दबाबमा समेत राम्रो प्रर्दशन गरिरहेको छ । लामो समय युएई पाकिस्तानकालागि घरेलु मैदान रह्यो । पाकिस्तान सुपर लिगका केही खेल यही खेलिएको थियो ।
पाकिस्तानको शीर्ष क्रमको ब्याटिङ्ग निकै बलियो देखिएको छ । कप्तान बाबर आजमले ४ अर्धशतक प्रहार गरिसकेका छन् । पाकिस्तानले सेमिफाइनलको खेलमा कप्तानबाट सोही प्रर्दशनको अपेक्षा गरेको छ । बाबर आजम र मोहम्मद रिजवानको ओपनर जोडी असफल भएपनि पाकिस्तानसँग मिडिल अर्डरमा राम्रा खेलाडी छन् ।
जसमा लामो छक्का प्रहार गर्ने अनुभवी सोएब मलिकदेखि मोहम्मद हफिज लयमा छन् । दुवै खेलाडी पछिल्लो समय फ्लुका कारण अभ्यास सत्रामा सहभागी हुन पाएनन् । त्यसको चिन्ता पाकिस्तानी टिमलाई रहेको छ ।
समूह चरणमा अष्ट्रेलियाले इङ्ल्याण्डसँग ८ विकेटको हार ब्यहोर्नुपरेको थियो । त्यस खेल बाहेक अष्ट्रेलियाको प्रर्दशन निकै उत्कृष्ट छ । अष्ट्रेलियासँग जोस हेजलवुड, मिचेल स्टार्क र प्याट कमिन्स जस्ता उत्कृष्ट बलर रहेका छन् ।
अलराउण्डर ग्लेन म्याक्सवेलदेखि मिचेल मार्सले टिमलाई सफलता समेत दिलाएका छन् । डेभिड वार्नरको फर्किएको लयले अष्ट्रेलिया उत्साहीत छ । उसले दुई अर्धशतक प्रहार गरेका छन् । जसमा पछिल्लो ८९ रनको अविजित इनिङ्स समेत सामेल छ ।
विजेता टिमले उपाधिका लागि न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । गए राति इङ्ल्याण्डलाई ५ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनल पुग्ने पहिलो टिम बनेको छ ।